Saturday, July 29, 2017

श्रावण शुक्ल पूर्णिमा (रक्षा बन्धन /जनै पूर्णिमा )





श्रावण शुक्ल पूर्णिमा (रक्षा बन्धन /जनै पूर्णिमा )




येन वद्धो बलिराजा दानवेन्द्रो महाबल :/
तेन त्वाममिवक्षामी रक्षमा  चलमा चल // (महाभारत ,उत्तर पर्व १३७ /२०) 


श्रावण शुक्ल पूर्णिमाको तिथिलाई श्रावण पूर्णिमा अर्थात् रक्षाबन्धन (जनै पूर्णिमा ) भनिन्छ। यस दिन प्रात कालमा उठेर नित्यकर्म गरेर स्नान गर्ने ,निर्मल जलले देवता र पितृलाई तर्पण दिने ,वेदोक्त ऋषीलाई पनि तर्पण गर्ने ,श्राद्ध गर्ने ,अपरान्ह कालमा कपास वा रेशमको वस्त्रमा अक्षता ,सुन ,सर्स्युं ,दुवो ,चन्दन आदि राखेर पोटलिका बनाउने र तामाको पात्रमा राखेर प्रतिष्ठित गर्ने ,आँगनमा गोबरले लिपेर बस्ने। अनि मङ्गल ध्वनि गर्दै दाहिने हातमा पुरोहित द्वारा उक्त पोटलिका बाँध्ने। वस्त्र भोजन दक्षिणा आदि दिएर व्राम्हणलाई सन्तुष्ट पार्नुपर्छ। यसले वर्ष भरि विजय , सुख , पुत्र ,आरोग्य , धन सबै कुरा प्राप्त हुने विश्वास गरिन्छ। 


प्राचीन कथा 


प्राचीन कालमा देवासुर सङ्ग्राममा दानवहरु पराजीत भए। दु:खी भएका दानवहरु दैत्यराज वलिका साथ दानव गुरु शुक्राचार्यको पासमा गए। आफ्नो पराजयको सबै वृतान्त गुरुलाई निवेदन गरे। दानवका कुरा सुनेर शुक्राचार्य भन्नु हुन्छ ,यो विषयमा अहिले विवाद गर्नु व्यर्थ छ। समय चक्रले हारजीत गराउँछ। यो वर्ष तिमीहरु देवराज इन्द्रसँग सन्धि गर किनकि इन्द्रकी पत्नी शचिले इन्द्रलाई रक्षासूत्र बाँधिदिएकि  छिन्। त्यसैले देवताहरु अजेय भएका छन्। एक वर्षसम्म प्रतीक्षा गर। त्यस पछि तिमीहरुको कल्याण हुनेछ। दानवहरुले आफ्ना गुरुको वचनको पालना गरे। 

रक्षाबन्धनमा विलक्षण प्रभाव हुन्छ। यसले वर्षभरिनै विजय , सुख , पुत्र ,आरोग्य , धन सबै कुरा प्राप्त गराउँछ। 






श्रावण महिनामा किन शिवलिङ्गमा जल चढाईन्छ ?




श्रावण महिनामा किन शिवलिङ्गमा जल चढाईन्छ ?

वैदिक कालमा समुन्द्र मन्थन यसै महिनामा भएको थियो। समुन्द्र मन्थन गर्दा क्षीर सागरमा मन्दराचल पर्वतलाई मदानी , शेष नागको नेती बनाईएको थियो। मन्दराचल पर्वतलाई भगवान विष्णुले आफ्नो तिघ्रामा दुवै हातले समातेर अड्याउनु भएको थियो। समुन्द्र मन्थन गर्दा विभिन्न वस्तुहरु निस्किएका थिए। देवी लक्ष्मी पनि समुन्द्र मन्थनबाटै निस्किएकी थिइन्। जसलाई विष्णु भगवानले अर्धाङ्गिनि बनाउनु भयो। त्यस्तै अमृत लगायत थुप्रै वस्तु निस्किएका थिए। ति सबै वस्तु देव दानवहरुले आपसमा बाँडेर लिए। जब कालकुट बिष निस्कियो ,देव दानवमा हाहाकार मच्चियो। दुवै पक्ष लिन तयार भएनन्। बिषले संसार संकटमा पर्ने भयो। सबैले देवाधीदेव महादेवको आराधना गरे। आशुतोष भगवान प्रसन्न भएर कालकुट बिष लिन तयार हुनु भयो। संसारलाई बचाउन भगवानले विषलाई आफ्नो कण्ठमा धारण गर्नु भयो। विषका प्रभावले भगवानको कण्ठ निलो भयो। त्यसैले निलकन्ठ नाम रहन गयो। कालकुट विषले भगवानलाई पोल्न थाल्यो। सबै देवता मिलेर भगवानको शिरबाट जलको धारा बगाउँदै पूजा गर्न थाले। बिषको दाहबाट शितलता दिन यसै समय देखि शिवलिङ्गमा श्रावण महिना भरि बोलबम भन्दै जल चढाइन्छ। यो महिनामा विशेष गरि रुद्री गरेर भगवानलाई जलधाराले स्नान गराउने प्रचलन पनि छ। यो मासमा शिवलाई जलको अभिषेक गराउँदा उत्तमोत्तम फल प्राप्त हुन्छ।  

साभार पुराण 

Monday, July 24, 2017

तस्विर कोरिसकें



तस्विर कोरिसकें ह्रदयको पाना भरी
अब दूर  हुने कोसिस नगर जीवन भरी
मेरो दिल तोडी
मेरो मन चोरी

विना वसन्तको वहार थिएँ म
विना खुशीको मुस्कान थिएँ म
तिमी बिना अधुरो थिएँ म
तिम्रो आगमनले पूर्ण भएँ म
राखेकी छु तिमीलाई दिल भरी
साथ देउ जीवन भरी
अब दूर  हुने कोसिस नगर जीवन भरी
मेरो दिल तोडी
मेरो मन चोरी


विना सुरजको धूप थिएँ म
विना दृश्यको नयन थिएँ म
तिमी बिना निरस थिएँ म
तिम्रो सहाराले सरस भएँ म
सोचेकी छु तिमीलाई जीवन साथी
सहारा बनिदेउ जीवन भरी
अब दूर  हुने कोसिस नगर जीवन भरी
मेरो साथ छोडी
मेरो मन चोरी 

Sunday, July 23, 2017

हिजो आज यो मन किन



हिजो आज यो मन किन उदास उदास हुन्छ 
एकान्त नै प्यारो लाग्छ एकान्त मै हराउँ लाग्छ 

अधरको लाली विलाई गयो 
जीवनको खुशी टाढा भयो 
वनपाखा उजाड लाग्छ जिन्दगी नै शून्य लाग्छ 
हिजो आज यो मन किन उदास उदास हुन्छ 

साहाराले छोडी गयो 
जिन्दगि नै सपना भयो 
जिन्दगी नै एक्लो लाग्छ सपना मै भूलूं लाग्छ 
हिजो आज यो मन किन उदास उदास हुन्छ 

Saturday, July 22, 2017

जब मैले देखें



जब मैले देखें उनीलाई दिलै मेरो पागल नि 
जब मैले पढें उनीलाई मोहनीले मनै छोयो नि 

नजरमा झल्केको जवानीको नशा 
अधरमा खुलेको मुस्कानको रेखा 
म विर्सूं कसरी भुलेर उनीलाई 
न बुझुं कसरी देखेर उनीलाई 

म फुटेको चुरी हुँ



म फुटेको चुरी हुँ जोड्न नखोज 
म झरेको फूल हुँ सजाउन नखोज 

रात पछि बिहानी आए झैँ 
मेरो जीवनमा उषाको लाली आएन 
शिशिरको पतझडमा  वसन्त छाए झैं 
मेरो भाग्यमा बहार छाएन 

म पोखिएको पानी हुँ पिउन नखोज 
म पुछिएको सिउँदो हुँ कोर्न नखोज 

मेरो तक्दिरले आँशु दियो 
जब हाँस्न जानेथें 
मेरो जीवन उजाडियो 
जब शरदमा फुल्न खोजेथें 

म निभेको आगो हुँ ताप्न नखोज 
म उजाड मरुभूमि हुँ वसन्त ल्याउन नखोज 

हाँस्न देऊ मलाई



हाँस्न देऊ मलाई बाँच्न देऊ मलाई 
भूल नगर कहिल्यै तिमी चूँडी नफ्यांक मलाई 

म खेलौना होइन तिम्रो खुशीमा खेल्ने 
म मूर्ति होइन अविर अक्षताले पुजिने 
म शिखा हुँ दीपको मुस्काइ रहन्छु रातमा 
म सुरज हुँ सगरको झुल्की रहन्छु प्रभातमा 

म आँधी होइन तिम्रो खुशी लुट्ने 
म राक्षस होइन तिमीलाई सकाउने 
म फूल हुँ नजरको वासना छर्छु बहारमा 
म गीत हुँ अधरको गुन्जी रहन्छु कानमा 

टाढा टाढा नहोउ तिमी



टाढा टाढा नहोउ तिमी 
मेरो नजरबाट ओझेल परि 

बर्सौंका प्यासी छन् लोचन 
तस्विर भई दिलमा बसिदेउ 
हर साँझ हर विहान पूजा गर्न पाउँ म 
तिम्रो नाम जपी जपी मर्न पाउँ म 

मेरो आशाको केवल एकै दीप हौ तिमी 
हजारौं पूजाको एकै वरदान हौ तिमी 
हर पल हर क्षण तिमीलाई हेर्न पाउँ म 
तिम्रो नाम जपी जपी मर्न पाउँ म 

मेरो दिलको दियालो



मेरो दिलको दियालो मधुरो भयो
आँशु नै अब जीवनको सहारा भयो

भरि प्याला विछोडको जहर पिएर
किनाराको माछा भै छटपट्टी रहेछु

आँखा भरि अधुरो सपना लिएर
पल पल तड्पीतड्पी बाँचीरहेछु 

तिमीलाई देखे जस्तो लाग्छ



तिमीलाई देखे जस्तो लाग्छ
कहीं कतै सुनगाभा फूलमा
तिमीलाई भेटे जस्तो लाग्छ
कहीं कतै निश्चल गगनमा

तिमी आउने गर त्यो बाटोमा
जहाँ म तिम्रो प्रतिक्षामा हुनेछु
तिमी गाउने गर त्यो लयमा
जहाँ म भित्र भित्रै बगिरहेको हुनेछु

तिमीलाई सुने जस्तो लाग्छ
कहीं कतै गीतको संगीतमा
तिमीलाई भेटे जस्तो लाग्छ
कहीं कतै सागरको लहरमा

म फुल्न खोज्दा खोज्दै



म फुल्न खोज्दा खोज्दै कोपिला मै झरेछु
म हाँस्न खोज्दा खोज्दै आँशुको सागरमा डुबेछु

उजाड रहेछ भाग्य मेरो कति चांडै रित्तो भएछु
आँशु रहेछ तक्दिर भरि रोई रोई बाँच्न बाध्य भएछु
न हाँस्न जानेकी छु न खुशी हुन
म त पतझड भएर बाँच्न बाध्य भएछु

विधाताले मलाई आँशु दिएछ
सागर भित्र पौडिरहेछु
बाटा भरि काँडा दिएछ
चोट सहेर हिँडिरहेछु


मेरा ओठहरुलाई

मेरा ओठहरुलाई हाँस्न सिकायौ
जीवनको सानो गोरेटो देखायौ



दुख सुखमा को सोध्थ्यो मलाई
रात कटाउँथें सिरानी भिजाई

उराठ अधरमा संगीत भरी दियौ
वेचैनी लिई मेरो खुशी नै खुशी दियौ

तिमी आयौ जसै एउटा साथी पाएँ
तिम्रो अबोध साथसंगै जीवन सजाएँ

वचन बाण म खप्थें तिमी प्रतिवाद गर्थेउ
मा रोए संगै तिमी आँशु झार्थेउ

तिम्रो बाल सुरक्षामा सुस्ताउन पाएँ
आफ्नो भाग्य संझी सधै हार खाएँ

तिम्रा नयनमा भुलाउँथेँ आफैंलाई
कहिं कतै दुखे सम्हाल्थें तिमीलाई

तिमी लड्दा दुख्थ्यो म आफैं लडें कि
तिमी हाँस्दा रम्थे सबै पिर बिर्सी

मृत मेरो जीवनमा संजीवनी छरिदियौ
निराश यी पाउमा चंचलता भरि दियौ

जब पाइला राख्यौ



जब पाइला राख्यौ मेरो मनको मझेरीमा
रोशनी छायो मेरो मनको अँधेरीमा

न बोल्ने कोहि न सुन्ने कोही
एक्लै एक्लै हिड्दै थिएँ
न साथी मेरा न संगी कोही
आफन्त कै भिडमा बिरानो थिएँ

जब सुस्तरी पाइला टेक्यौ जीवनमा
उमंग भरियो मेरो मनमा

मायाको बिऊ रोपी दियौ
आशाको दीप बाली दियौ
खडेरीमा वर्षा भए जस्तै
स्नेहको बाढी लेराइ दियौ

जब तिम्रो आगमनको आभास भयो मनमा
खुशीको सरगम बज्यो मेरो जीवनमा

मैले हांस्नै बिर्सिसकेंथें
रोएर आँशु रित्याई सकेथें
तिम्रो आगमनसंगै हाँस्न सिकें
अँध्यारोको दीपक तिमीलाई पाएँ 

Monday, July 17, 2017

कुन पुराण पहिला



पुराणको क्रम 

जम्मा पुराणको संख्या अठार रहेको छ। यी अठार पुराणमा सब भन्दा पहिला कुन चाहिं होला ? तल क्रमानुसार दिइएको छ। पुराण प्राचिन समयको इतिहास हो। यसमा विभिन्न समयका प्रतापी राजा महाराजा तथा विशिष्ट व्यक्तित्वहरुको चर्चा परिचर्चा गरिएको छ।
१ ) ब्रम्हपुराण
२ ) पद्मपुराण
३) वैष्णव पुराण
४) शैव पुराण
५) भागवत पुराण
६) नारद पुराण
७) मार्कंडेय पुराण
८) आग्नेय पुराण
९) भविष्यत पुराण
१०) ब्रम्हावैवर्त पुराण
११) लिंग पुराण
१२) बराह पुराण
१३) स्कन्ध पुराण
१४) वामन पुराण
१५) क्रूर्म पुराण
१६) मत्स्य पुराण
१७) गरुड पुराण
१८) ब्रम्हाण्ड पुराण 

Sunday, July 16, 2017

भगवान शिवका १०८ नाम (प्रसङ्ग श्रावन महिना )



भगवान शिवका  १०८ नाम 


१)शिव -कल्याणकारी 
२)महेश्वर -मायाका अधिश्वर 
३)शम्भू -आनन्द स्वरुप 
४)पिनाकी -पिनाक धनुषधारी 
५) शशिशेखर -शिरमा चन्द्रमा धारण गर्ने 
६)वामदेव -अत्यन्त सुन्दर 
७) विरुपाक्ष- विचित्र आँखा भएको 
८)कपर्दी -जटाजुट धारी 
९) नीललोहित -निलो र रातो रंगवाला 
१०) शंकर -सबको कल्याण गर्ने 
११ )शूलपाणी -त्रिशूल धारी 
१२ ) खटवांगी -खाटमा एक पाउ राख्ने 
१३ )विष्णुवल्लभ -विष्णुका प्रिय 
१४ )शिपिविष्टि -सितुहामा प्रवेश गर्ने 
१५ )अम्विकानाथ -देवी भगवतीका पति 
१६ )श्रीकण्ठ -सुन्दर कन्ठवाला  
१७ )भक्तवत्सल -भक्तलाई अत्यन्त स्नेह गर्ने 
१ ८ )भव -संसार भइ प्रकट हुने 
१९ )शर्व -कष्टको पनि कष्ट नाश गर्ने 
२० )त्रिलोकेश -तिन लोकका स्वामी 
२१ )शितिकण्ठ -सफेद कण्ठ 
२२ )शिवाप्रिय -पर्वातिका प्यारा 
२३ ) उग्र -अत्यन्त उग्र रुप वाला 
२४ )कपाली -कपाल धारण गर्ने 
२५ )कामारी -कामदेवका शत्रु 
२६ )सुरसुदन -अन्धक दैत्यको मार्ने 
२७ )गंगाधर -गंगालाई धारण गर्ने 
२८ )ललाटाक्ष -लालाटमा आँखा भएका   
२९ )महाकाल -कालका पनि काल 
३० )कृपानिधि -करुणाका खानी 
३१ )भीम -भयङ्कर रुप 
३२ ) परशुहस्त -हातमा बन्चरो लिने 
३३ )मृगपाणी -हरिण धारण गर्ने 
३४ )जटाधर - जटा भएका 
३५ )कैलाशवासी -कैलाश निवासी 
३६ )कवची -कवच धारण गर्ने 
३७ )कठोर -अत्यन्त मजबूत देहवाला 
३८)त्रिपुरांतक -त्रिपुरासुरको मार्ने 
३९ )वृशांक -ध्वजामा वृषको चिन्ह भएको 
४० )वृषभारुढ़ -गोरुमा सवार हुने 
४१ )भस्मोदधुलितविग्रह -भस्म लगाउने 
४२ )सामप्रिय -साम गानमा प्रेम गर्ने 
४३ )स्वरमयी -सात स्वर निवास गर्ने 
४४ )त्रयिमूर्ति -वेदरुपी विग्रह गर्ने 
४५ )अनिश्वर -सबका स्वामी 
४६ )सर्वज्ञ -सबै जान्ने 
४७ )परमात्मा -सबै आत्मा भन्दा उच्च 
४८)सोमसुर्याग्निलोचन -चन्द्र ,सूर्य र अग्नि रुपी आंखावाला 
४९ ) हवि -आहुति रुप 
५० )यज्ञमय -यज्ञ स्वरुप 
५१ )सोम - उमासहित 
५२ )पन्चवक्त्र-पांच मुख वाला 
५३ )सदाशिव -नित्य कल्याण रुप 
५४ )विश्वेश्वर -विश्वका ईश्वर 
५५ )वीरभद्र -वीर भएर पनि शान्त 
५६ )गणनाथ -गणका स्वामी 
५७ )प्रजापति -प्रजाको पालन गर्ने 
५८)हिरण्यरेता -स्वर्णतेजवाला 
५९ )दुर्धुर्ष -कसैसंग न दब्ने 
६० )गिरिश -पर्वतका स्वामी 
६१ )गिरिश्वर -कैलाशमा सुत्ने 
६२ )अनघ -पाप रहित 
६३ )भुजंगभुषण -सांपका गहन लगाउने 
६४ )भर्ग -पाप मेटाउने 
६५ )गिरिधन्वा -मेरु पर्वतको धनुष बनाउने 
६६ )गिरिप्रिय -पर्वत प्रेमी 
६७ )कृतिवासा -गजचर्म लगाउने 
६८)पुराराती -पुरको नाश गर्ने 
६९ )भगवान् -सर्व समर्थ सम्पन्न 
७० )प्रमथाधिप -प्रमथ गणका अधिपति 
७१ )मृत्युन्जय -मृत्यूलाई जित्ने 
७२ )सुक्ष्मतनु -सुक्ष्म शरिरवाला 
७३ )जगदव्यापी -जगत भरि व्यापक 
७४ )जगदगुरु -जगत्क गुरु 
७५ )व्यमकेश -आकाश रुपी 
७६)महासेनजनक -कार्तिकेयका पिता 
७७ )चारुविक्रम -सुन्दर पराक्रम वाला 
७८)रुद्र -भयानक 
७९ )भूतपति -पंचभूत वा भूतका स्वामी  
८० )स्थाणु -स्पन्दन रहित 
८१ )अहिर्बुध्न्य -कुण्डलिनी धारण गर्ने 
८२ )दिगम्बर -नग्न 
८३ )अष्टमूर्ति -आठ रुप 
८४ )अनेकात्मा -अनेकरूप धारण गर्ने 
८५ )सात्विक -सत्व गुण वाला 
८६ )शुद्धविग्रह -शुद्ध मूर्तिवाला 
८७ )शाश्वत -नित्य 
८८)खण्डपरशु -टुटेको बन्चरो बोक्ने 
८९ )अज -अजन्मा 
९० )पाशविमोचन -बन्धनबाट छुटाउने 
९१ )मृड -सुख स्वरूप 
९२ )पशुपति -पशुका स्वामी 
९३ )देव -स्वयं प्रकाश रुप 
९४ )महादेव -देवका पनि देव 
९५ )अव्यय -खर्च गर्दा पनि न घट्ने 
९६ )हरि -विष्णु रुप 
९७ )पुषदन्तभित् -पुषाको दाँत उखेल्ने 
९८)अव्यग्र -कहिल्यै व्यथित नहुने 
९९ )दक्षाध्वरहर -दक्ष यज्ञ नष्ट गर्ने 
१०० )हर -पाप र ताप हर्ने 
१०१ )भगनेत्रभिद -भग देवताको आँखा फोड्ने 
१०२ )अव्यक्त -प्रकट नहुने 
१०३ )सहस्राक्ष -हजार आँखा 
१०४ )सहश्रपाद -हजार पादवाला 
१०५ )अपवर्गप्रद -कैवल्य वा मोक्ष दिने 
१०६ )अनन्त -अन्त नभएको 
१०७)तारक -सबको तार्ने 
१०८ )परमेश्वर -परम इश्वर 










Tuesday, July 11, 2017

देवशयनि एकादशी तथा देवोत्थानी द्वादशी व्रत विधान (चतुर्मास व्रत )




देवशयनि एकादशी तथा देवोत्थानी द्वादशी व्रत विधान (चतुर्मास व्रत )


चतुर्मासमा भगवान किन शयन गर्नुहुन्छ ?

कुनै समय योगनिन्द्राले भगवान् विष्णुको ठूलो तपस्या गरिन्। भगवान प्रशन्न हुनुभयो। प्रसन्न हुनुभएका भगवानसंग उनले "मलाई पनि हजुरको अंगमा स्थान दिनुहोस्" भनेर प्रार्थना गरिन्। भगवानले भन्नु भयो मेरा सबै अङ्ग लक्ष्मी लगायतसङ्ग अधिष्ठित छन्। 
उर :स्थल -------------------------------लक्ष्मी 
बाहु -------------------------------------शङ्ख ,चक्र ,गदा आदि 
शिर -------------------------------------मुकुट 
कान-------------------------------------कुण्डल आदि 
भगवानले एकै छिन पछि भन्नु भयो मेरा पलक कसैको अधिनमा छैनन्। तिमी पलकमा बस्न सक्छ्यौ। भगवानले योगनिन्द्रालाई आफ्ना पलकमा धारण गर्नु भयो। उनको सम्मान गरेर भगवानले उनलाई आफ्ना आँखामा स्थान दिनु भयो। त्यसपछि भन्नुभयो -"तिमी वर्षमा ४ महिना मेरो आँखामा बस। " योगनिन्द्रा प्रसन्न भएर हरेक चतुर्मासमा भगवान नारायणको पलकामा बस्न थालिन।त्यसै समयदेखि नारायण चार महिना योगनिन्द्रामा रहन थाल्नु भयो। भगवान शयन गर्ने यी चार महिना नै चतुर्मास हुन्।  आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको समय भगवान क्षीर सागरमा शेषशैयामा शयन गर्नु हुन्छ। माता लक्ष्मी आफ्ना करकमलले भगवानका चरण कमल दबाउनु हुन्छ। क्षीर सागरको लहरले भगवानको चरणकमल पखाल्छ। 


चतुर्मास प्रारम्भ र व्रत विधान 


सूर्यदेव मिथुन राशिमा प्रवेश गरे पछि अर्थात् आषाढ शुक्ल एकादशीको दिन भगवान मधुसूदनको मूर्तिलाई शयन गराई दिने तथा सूर्यदेव तुला राशिमा आएपछि अर्थात् कार्तिक शुक्ल एकादशीको दिन भगवान जनार्दनको प्रतिमालाई जगाउने यिनै दुई एकादशी देवशयनी तथा देवोत्थानी एकादशीका नामबाट यस लोकमा प्रशिद्ध छन्।

हरिशयनी /देवशयनी  एकादशीको दिनमा उपवास बस्नु पर्दछ। सोहि दिन भगवान विष्णुलाई शुभ्र रङ्गको ओछ्यान र सिरानीमा पिताम्बर लगाएर शयन गराउनु पर्दछ। दही ,दूध ,शुद्ध घ्यू तथा जलले भगवानको प्रतिमालाई स्नान गराएर गन्ध ,धूप ,कुम्कुम तथा वस्त्रले अलंकृत गरेर प्रार्थना गर्नु पर्दछ। 

सुरते त्वयी जगन्नाथ जगत् सुरतं भवेदिदम /
विशुद्धे त्वपि बुद्येत जगत् सर्वचराचरम //  (महाभारत ,उत्तरपर्व ,७० /१०)

चतुर्मासमा त्याज्य वस्तु                                                             फल प्राप्ति 

सखर                                                                                      अर्को जन्ममा मधुर वाणीवाला राजा हुने
तेल                                                                                         सुन्दर शरीरवाला
कटु तेल                                                                                   शत्रुनाश
महुवाको तेल                                                                           अतुल शौभाग्य
पुष्प तथा भोग                                                                          स्वर्गमा विद्याधर
 रस (तितो ,पिरो , मीठो ,नुनिलो आदि )                                      विरुप वा दुर्गति नहुने
अन्न                                                                                         मधुर कण्ठवाला
घ्यू                                                                                           लावण्य र सबै सिद्धि
फल                                                                                         वुद्धिमान तथा पुत्र लाभ
योग अभ्यास गर्ने                                                                       ब्रम्हपद  
साग खाने                                                                                 रोगी 
अपक्वा अन्न ग्रहण                                                                      निर्मल शरीर 
तेल मालिश त्याग                                                                      दीप्तिमान ,धनधान्य युक्त कुबेर समान 
श्रावणमा मही ,भाद्रमा दही ,आश्विनमा दूध त्याग                          गोलोक प्राप्ति 
भूमिमा शयन                                                                           विष्णु भक्त 
घाममा पकाएको वस्तु सेवन                                                      दीर्घायु सन्तान 
भूमिमा बसेर भोजन गर्ने                                                             भूमिपति 
ओम् नमो नारायण मन्त्र जप निराहार भएर गर्ने                            गोदान जन्य फल 
नङ्ग तथा केश पाल्ने ,दिनहु गंगा स्नान गर्ने र मौन व्रत बस्ने             सबैले आज्ञा मान्ने 

भगवान विष्णुको चरणोदकको स्पर्शले मनुष्य कृतकृत्य हुन्छन। चतुर्मासमा भगवान विष्णुको मन्दिरमा अर्चना गर्नाले कल्प पर्यन्त राजा होइन्छ। स्तुति पाठ सहित भगवान विष्णुको मुर्तिलाई १०० पटक प्रदक्षीणा गरी पुष्प माला आदिले पूजन गर्नाले हंसयुक्त विमानमा बसेर विष्णुलोक जान पाइन्छ। विष्णु सम्बन्धी गाना बजाना गर्नाले गन्धर्वलोक प्राप्त हुन्छ। प्रतिदिन शास्त्र चर्चा गरेर ज्ञान बाँड्नाले व्यास रुपी भगवान समान मान्य भएर विष्णुलोकको अधिकारी होइन्छ। नित्य स्नानले नरक जानु पर्दैन। भोजनमा संयम गर्नाले पुष्कर क्षेत्रमा स्नान गरेको फल मिल्छ। भगवत्सम्बन्धी नाटक लीला गर्नाले अप्सरा राज्य प्राप्त हुन्छ। अयाचित भोजन गर्नाले कुवा बनाएको फल मिल्छ। दिनको अन्तमा भोजन गर्नाले स्वर्गमा बास हुन्छ। जमिनमा भोजन गर्नाले कुरुक्षेत्र वासको फल मिल्छ। शिलामा भोजन गर्नाले प्रयाग स्नान फल मिल्छ। दो प्रहरमा जल त्याग गर्नाले कहिल्यै रोगी हुनुपर्दैन। 

यसरी चतुर्मास व्रतको नियम पालन गर्ने साधकलाई पूर्ण सन्तोष प्राप्त हुन्छ। सबै प्रकारका सुख र सन्तुष्टी प्राप्त हुन्छ। 

गरुडध्वज जगन्नाथ शयन गरेको समयमा विवाह ,व्रतबन्ध ,दीक्षा ग्रहण ,यज्ञ ,गृह प्रवेश ,गोदान ,प्रतिष्ठा एवं सबै शुभ कार्य निषेध गरिएको छ। सक्रान्ति रहित महिना अर्थात् मलमासमा पनि देव तथा पितृ कार्य निषेध गरिएको छ। 


आषाढ शुक्ल एकादशीमा शयन गर्नु भएको भगवान भाद्र महिनाको शुल्क एकादशीमा कोल्टे फेर्नु हुन्छ। जसलाई भगवान बिष्णुको कटिदान पनि भनिन्छ। त्यो एकादशीलाई हरिपरिवर्तनि एकादशी भनिन्छ। व्रतालुले शयन गर्नुभएको भगवानको मूर्तिको करवट बदलिदिनु पर्छ। साथै यस दिनमा महा पूजा लगाउनु पर्छ। 

आषाढ शुक्ल एकादशीमा शयन गरेर भाद्र महिनाको शुल्क एकादशीमा कोल्टे फेरेपछि शंख ,चक्र ,गदा धारी भगवान विष्णु कार्तिक मासको शुक्ल एकादशीको दिनमा जाग्नु हुन्छ।

इदं विश्नुर्वी चक्रमे न्त्रेधा निदधेपदम /
समूढ़मस्य पाद् सुरे स्वाहा //( यजुर्वेद ,५ /१५ )  यो मन्त्र जप्दै भगवानलाई जगाउनु पर्छ। 

शंख ,मृदंग आदि वाद्य यन्त्रको ध्वनि सहित भगवानलाई राति रथमा राखेर नगर परिक्रमा गराउनु पर्दछ। नगरमा दीपावली गरेर गान बजाना गर्दै मंगल उत्सव गर्नुपर्दछ। भनिन्छ ,उठ्दा भगवानले जुन जुन वस्तु देख्नुहुन्छ ,साधकले स्वर्गमा ती सबै वस्तुको भोग गर्न पाउँछ। एकादशीको रात्रिकालमा जागरण रहनु पर्दछ। प्रात कालमा स्नान गरेर शुद्ध भइ विष्णु भगवानको पूजन गर्नु पर्छ। अग्निमा घृत ,हव्य ,द्रव्यको हवन गर्नुपर्छ। प्रसन्न र संयमित भइ ब्राम्हण भोजन गराउने। घ्यू ,दही ,मधु ,सखरबाट बनेको लडडु अर्पण गर्ने। ११ ,१० ,८ ,५ या २ जना विप्रको पुष्प गन्ध आदिले विधि पूर्वक पूजा गर्ने। श्रेष्ठ संयासीलाई भोजन गराउने। दक्षिणा दिएर विदा गर्ने। चार माससम्म छोडेका सबै खानेकुरा खाने। यसो गर्नाले धर्म प्राप्त हुन्छ। विष्णुपुरी ,वैकुण्ठमा वास हुन्छ। पुनर्जन्म हुदैन। यो महात्म्य सुन्नेले पनि विष्णुलोक प्राप्त गर्छ। भगवान शयन गर्ने र जाग्ने दिनमा जसले उपवास गर्छ त्यसले पनि सद्गति प्राप्त गर्छ। 

साभार भविष्य पुराण ,अध्याय ७० 
                                                                                                

Monday, July 10, 2017

दुबोको उत्पति र दुर्वाष्टमी व्रत


दुबोको उत्पति र दुर्वाष्टमी व्रत 


भाद्र मास शुल्क पक्षको अष्टमी तिथिलाई दुर्वाष्टमी भनिन्छ। यो तिथिलाई अत्यन्त पवित्र मानिन्छ। यस पुण्य तिथिमा श्रद्धापूर्वक व्रत वस्नाले वंशको क्षय हुदैन। दुबोसरी कूलको वृद्धि हुन्छ। अर्थात् मौलाउँछ। 


जब देवता र दानव मिलेर अमृत प्राप्त गर्न क्षीर सागर मन्थन गर्न थाले। तब मंदराचल पर्वतलाई मदानी बनाइयो। मंदराचल पर्वतलाई भगवान विष्णुले आफ्नो जंघामा दुवै हातले समातेर धारण गर्नु भयो। मंदराचल पर्वतको घर्षणले भगवानको जंघाको रौँ बटारिएर उखेलियो। अनि सागरमा खस्यो। त्यो रौँ सागरको लहरले किनारमा पाखा लगाइदियो। त्यो रौँ हरित वर्ण भइ सुन्दर  एवं शुभ दुबोको रुपमा प्रकट भयो। सागर मन्थनबाट निस्केको अमृतको घडालाई देवताहरुले त्यही दुबोमाथि राखे। घडाबाट खसेको अमृतको थोपा दूबोमा पर्यो। अमृतको स्पर्शले दुबो अजर अमर बन्यो। त्यसैले यो भगवानको लागि अति नै पवित्र मानिन्छ। 

देवताहरुले भद्र मासको शुल्क पक्षको अष्टमीको दिनमा गन्ध ,पुष्प ,धूप ,दीप ,नैवेद्य ,खर्जुर ,नरिवल ,द्राक्षा ,कपित्थ ,नारंग ,आम्र ,वीजपूर ,दारिम आदि फल तथा दही ,अक्षता ,माला आदिले मन्त्र द्वारा पूजा गरे। 

त्वं दूर्वे $मृतजन्मासि वन्दिता च सुरासुरै :/
सौभाग्यम सन्ततीं कृत्वा सर्वकार्यकरी भय //
यथा शाखाप्रशाखा त्वार्मिविस्त्रितासि महितले /
तथा ममापी सन्तान्म देहि त्वमजरामरे //   (महाभारत ,उत्तर पर्व ,५६ /१२ -१३ )

देवता उनीहरुका पत्नी तथा अप्सराहरुले पनि पूजा गरे। मर्त्यलोकमा पनि वेदवती ,सीता ,दमयन्ती आदि स्त्रीहरुले दूबोको पूजा गरेर आफ्नो अभिष्ट पूरा गरेका थिए। 

जो नारी स्नान गरेर शुद्ध वस्त्र धारण गरेर दूबोको पूजा गरेर तिल्पिष्ट ,गोधूप तथा सातधान्य आदिको दान गरेर ब्राम्हणलाई भोजन गराउँछिन् तथा यो अष्टमीको व्रत बस्छिन्। उनी पुत्र ,सौभाग्य ,धनधान्यले पूर्ण भइ संसारका सबै सुख प्राप्त गर्दछिन। साथै मृत्यू पछि पति सहित स्वर्गमा निवास गर्दछिन। 

(भविष्य पुराण ,अध्याय ५६ बाट साभार )

  गणतन्त्र दिवस राजतन्त्र  निरङ्कुशतन्त्र  प्रजातन्त्र  एकदलीय प्रजातन्त्र  बहुदलीय प्रजातन्त्र  शाहीतन्त्र  शिशु प्रजातन्त्र  लोकतन्त्र  अन...