Monday, August 8, 2022

मेरो रचना

 २०७८/०२/२१ शुक्रबार

मेरो रचना भनुँ

या वाचन

छरिएका अक्षर अनि शब्द समेटेर

आफुलाई सर्जक भनुँ

या वाचक

विस्मित छु

लज्जित हुन्छु



न शब्द मेरा

न छन्द

न स्वर मेरो

न लय

म तृण हुँ

सिन्धुको विन्दु हुँ


जब म हुन्छु

विणाको तार भेटिँदैन

सारङ्गी रेटिंदैन

जब म हुन्न

लय छुट्छ

स्वर उठ्छ

मनको मानसरोवरमा

शब्द सङ्गीत लहराउँछन्

उमङ्गका, जोसका अनि होसका

लतिका फहराउँछन्

मुग्ध कण्ठ सुसाउँछन्

तब केही बन्छ


प्रभा अधिकारी

सूर्यविनायक-५

भक्तपुर



Sunday, August 7, 2022

खै कहाँ छ करुणा ?

 खै कहाँ छ करुणा ?

२०७६/१२/१९


आमाको गर्भ निरोधक चक्कीलाई

परास्त गरी जबरजस्ति गर्भमा बसें

लिङ्ग पहिचान पछि

आमाले क्लिनिक धाउँदा धाउँदै

सबैलाई छक्क पार्दै धरामा टेकेँ

वंश परम्परामा दर्ज भइन

सन्तानको दर्जा नै पाइन

भाइ, आमा-बाको काखमा खेलेको हेरेर कल्पिएँ

उसकै पुरा खाएर बढेँ हुर्किएँ

भाइलाई चिटिक्क पारी स्कूल पुर्याएं

आफु भान्सा र भकारो मै थन्किएँ

जवानीको संघार मै सिन्दूर पोतेसँगै साटिएँ

हाँसो खुसीबाट फेरीपनि टाढिएँ

वंश परम्परा धान्न

बच्चा जन्माउने मेशिन माने

धेरै पटक आफैँलाई कसूरदार ठानेँ

खै कुन्नि कता धापिएँ

नियतिको रापमा रापिएँ

आफ्नै सन्तानलाई सुम्सुम्याउन डर लाग्छ

कतै मेरै नियति नदोहोरियोस्

मेरै भाग्य रेखा नकोरियोस्


प्रभा अधिकारी

सूर्यविनायक

भक्तपुर


Saturday, August 6, 2022

जीवन यात्रा


 

  जीवन यात्रा (२०७८/०५/०३ बिहिबार)


जीवन

यात्रा या विश्राम ?

पुग्छन्  घाटमा 

दुबै एकै साथ

बुझ्नेलाई खास

नबुझ्नेलाई झास


जीवन नाउमा

दुई यात्री सवार

धन र यश  

जीउन जाने बेस

नत्र नौ रङ्गी भेष

सतरञ्जको बाजी या रेस


जीवनका दुई पथ

सुरुचि अनि सुनीति

रुचि दिग्भ्रम

कहिले गरम 

कहिले शरम

नीति दैवि देन

आत्मसम्मान 

धर्म अनि इमान


अमिर

धनका अनि मनका

धनको इतिहास खास

केही काल बस्

मनको कथा अनन्त

बुद्ध महावीर सन्त


रफ्तार

मन्द अनि तेज

आखिरमा 

बाँसको सिरानी

दाउराको सेज

स्वर्ग नरक मनको भेग



यात्रा

अन्तर्मनको - बहिर्गमनको

योगको - भोगको

पथिक अनेक

गन्तव्य एक

आनन्दको

मङ्गलको

भगवत्को

कैवल्यको



इति शुभम्


प्रभा अधिकारी

सूर्यविनायक-५

भक्तपुर






Friday, August 5, 2022

माग


 

 माग (२०७८/०३/३० बुधबार)


पाउनु  

गुमाउनु

वासनाको खेल

मूल नै मेटिए पछि

यसको अर्थ के ?


पूर्णता, 

परमात्माको देन

विराटका सामु

छुद्रको लागि हात पसार्नु ?

शिर झुकाउनु ?

दरिद्रताको पराकाष्ठा भएन र?

अभिप्षा बिना नै जीवन

जगत पाएँ

रमाउन

कमाउन

जमाउन


विशाल अस्तित्वको काखमा

निस्फिक्री खेल्न सक्छु

बिना माग भरिपूर्ण छ

अञ्जुली

पोल्टो


बिना कारण

आफूलाई माग्ने बनाउँ ?

दरिद्र भनाउँ ?

उसको खटनमा

जरुर "ढिलो होला, अँध्यारो छैन"

उसको छाती फराकिलो छ

समय मिलाएर

सबै व्यवस्था गर्छ

बेकार कोहोलो किन हाल्नु ?

राँको किन बाल्नु ?

टाउको भारी किन बनाउँ‌ ?

जात किन जनाउँ ?


परमात्माको लिला अपरम्पार

बर्षाउँ छ, प्रेमधारा बारम्बार

किन म,

कृतध्न बनौँ

हात पसारौँ

अविश्वास गरौँ

संशयको बीज रोपौँ


भरोसा छ, विराटको 

अनुकम्पामा

अनुग्रहमा

कृपामा

उदारतामा

कृपणता किन देखाउँ ?

उहि स्रस्टा

उही द्रष्टा

पालनहार

तारणहार


पूर्णविराम, 

व्यर्थको भाग दौडमा

जीवनको वटवृक्ष मुनि

झोली फैलाएर

मनको ढोका उघारेर

अनन्त विश्राममा

प्रतिक्षामा 

पक्कै हुनेछ

कुनै क्षण

पियुष बर्षा



इति शुभम्

प्रभा अधिकारी

सूर्यविनायक -५

भक्तपुर




Friday, July 22, 2022

कुन हो मेरो धर्म ? कुन हो मेरो देश?





 कुन हो मेरो धर्म ? कुन हो मेरो देश?

म छाउगोठको चिसो अध्यारो कोठा भित्र 

निसासिएर मर्न सक्छु 

त्यहीँ बलात्कारीको सिकार बन्न सक्छु 

दाइजोको निहुँमा मट्टितेल छर्किएर जलाइन सक्छु 

वंश परम्परा धान्ने छोरा खोज्दै गर्दा 

आमाको गर्भ मै

 भगवानको अवतार मानिने 

चिकित्सकका हातबाट रेटिन सक्छु

जननी कै कोख मेरा लागि श्यामसान बन्न सक्छ 

त्यति सहज कहाँ छ र ? मेरा लागि यो धर्तीको यात्रा 


बाबुको साथमा खेल्न पनि डराउनु पर्छ मैले 

त्यो काख नै असुरक्षित बन्न सक्छ कैले

छोरी भएकै कारण, 

छोरी भएकै कारण काँडेतार माथि हिड्नु पर्छ जैले 


मलाई देखेपछि सुर असुर बन्न सक्छ  

योगी भोगी बन्न सक्छ 

कर्मशील आफ्नो कर्म भुल्न सक्छ 

ध्यानी पनि बिचलित हुन सक्छ

 

प्रेम प्रस्ताव अस्वीकार गर्दा होस् 

वा 

कसैसँग बोलेको शंकामा 

प्रेम पुजारी कै हातबाट 

अनुहारमा तेजाब फ्याँकिन सक्छ 

आफ्ना भनौदा कै हातबाट देश विदेशमा 

मेरो देह बेचिन सक्छ 

लाग्छ, मैले टेक्ने जमीन मेरो भागमा छैन 

म माथिको आकाश मेरो होइन


के यस धर्तीमा मेरो अस्तित्व छैन ?

मेरो बाँच्ने अधिकार छैन ??

मेरो हाँस्ने अधिकार छैन ???


"सम्मानपूर्वक बाँच्न पाउने" मौलिक हकको 

प्रत्याभुति कस्ले दिने ? 

खै कहाँ छ मेरो मानव अधिकार ? 

महिला अधिकार ??


महिला हक अधिकारका अनगिन्ती दस्तावेजहरु 

 UN का अगणित सभा-सम्मेलनका कागजातहरु 

खै कता थुप्रिएका छन् ?

कुन पुस्तकालयको पुस्तकहरुको चाङमा पुरिएका छन् ?


वैज्ञानिकहरूका हातमा प्रयोगशाला बन्छ- मेरो गर्भाशय

Nilocon white र पिल्सको खात बन्छ - मेरो आमाशय

अनि  

अनि Levenorgestrel सँगै बधशाला बन्छ - मेराे गर्भाशय 

रक्त रञ्जित हुन्छ - मेरो जन्मभूमि

मेरो शरीरमा मेरो अधिकार खोइ ?

मेरो चाहनामा मेरो अभिमत खोइ ??


हे विज्ञानका ज्ञाताहरु !

सक्छौं भने

एक्लै सिंगो आकाश ढाकेर देखाऊ

तिमी मै गर्भाशय प्रत्यरोपण गरेर देखाऊ

 एक्लै यो सृष्टि चलाएर देखाऊ

 तब म मान्छु मेरो अस्तित्व छैन भनेर

तब म भन्छु यो धरामा मेरो आवश्यकता छैन भनेर 


खै कुन हो मेरो धर्म ?

न बाइबलका भर्सहरुमा अटाएँ

न कुरानका आयातहरुमा समेटिएँ

 न वेदका ऋचाहरुमा बाँधिएँ 

मात्र दोस्रो दर्जामा दरिएँ

 

कुन देशको भूगोल भित्र सुरक्षित छु ?

न एसियाका कन्दरामा सुसेली हाल्दै बग्न पाउँछु 

न युरोप अमेरिकाका बागहरुमा निर्धक्क फुल्न पाउँछु 

Monica Lewinsky बन्न सक्छु

राम रहिमको पासोमा फस्न सक्छु 

यौनदुराचार र यौनशोषणको दृश्य 

जताततै भयाबह छ  

जगत व्याप्त छ 

अनि सोध्न मन लाग्छ 

कुन हो मेरो धर्म ?

कुन हो मेरो देश ? 

मेरो परिवेश ?


मेरो नग्न शरीर मात्र हेर्न आतुर नयन अगाडि 

निस्फिक्री भै

नागा बाबा बनिदिन मन लाग्छ 

जापान र दक्षिण कोरियाली नारीको 

No bra आन्दोलनमा हात मिलाउन मन लाग्छ 

No Marriage, No Sex को समर्थनमा 

प्लेकार्ड लिएर नारा लगाउन मन लाग्छ 

यो सिंगो सृष्टिलाई तिम्रै हातमा सुम्पिदिएर

शून्य बनाइदिन मन लाग्छ 

शून्य बनाइदिन मन लाग्छ

इति शुभम्

# Levenorgestrel *72 घण्टे चक्की *#

प्रभा अधिकारी

सूर्यविनायक- ५

भक्तपुर



Tuesday, July 12, 2022

न लोरी सुनाएँ

 






न लोरी सुनाएँ

न गीत गुनगुनाएँ

कहिले हप्काएँ

कहिले दप्काएँ


न आल्हादमा चुमेँ

न तिमीसँगै झुमेँ

कहिले झर्किएँ

कहिले गर्जिएँ


न सुम्सुम्याएँ

न थुमथुम्याएँ

कहिले झकझक्याएँ

कहिले ढक्ढक्याएँ


न हाँस्न सिकाएँ

न समय बिताएँ

कहिले झिँजाएँ

कहिले तिलमिलाएँ




Sunday, July 10, 2022

आमा

 


आमा (२०७८/०१/२७ सोमबार )


म तिमीलाई मातृदेवो भव:

भन्न सक्दिन

किन?

यथार्थमा मैले अहिलेसम्म भगवानको अस्तित्वको

अनुभव गर्न सकिन

तिमीलाई मेरी जन्म दाता मानूँ 

एउटा शूक्ष्म प्रश्न मनमा

उदाउँछ 

अस्ताउँछ

न तिमीले मलाई गर्भमा आउन आव्हान गरेकी थियौ

न मैले जानेर, सोचेर या विचारेर

गर्भमा प्रवेश गरेकी थिएँ

तिमीले दुध खुवायौ

पाल्यौ

पोष्यौ

हिड्न, बोल्न सिकायौ

तिम्रो बाध्यता थियो

या प्रकृतिको नियम

कसैले मलाई सिकायो

भनिदियो

तिमी मेरी आमा हौ

जन्मदाता हौ

पालनहार हौ

मैले तिनै आँखाले हेर्न थालेँ

सोच्न थालेँ

विस्तारै तिमी मेरो सबथोक बन्न पुग्यौ

मलाई चोट लाग्दा तिम्रो छाती दुख्न थाल्यो

मेरो हाँसोका छालमा तिम्रो मन रम्न थाल्यो

सबैबाट जोगाएर

कुखुराले चल्ला छोपे झैं छोप्थ्यौ

मेरा दोष सबै आफैँमा रोप्थ्यौ


तिमी बलशाली थिइनौ

र, पनि तिम्रो छत्रछायाँमा विश्वस्त थिएँ

भूतप्रेत, पिशाच, बाघ, भालु, शत्रु

निशाचर - दिवाचर

सब तिम्रो सामु कावा खान्थे


तिमी सम्पन्न थिइनौ

तथापि,  कुवेरको ढुकुटी पोल्टामै अटाउँथ्यौ

मेरा सब तिर्खा मेटाउँथ्यौ


अनजान मै जोडिएको सम्बन्ध

समयको बहावमा खै कसरी कसियो

तिम्रो उपस्थितिमा सप्तसूर्य उदाउँथ्यो

जगत जगमग, हराभरा, भरीपूर्ण हुन्थ्यो

तिम्रो अभावमा सधैं खालीपन

शून्यता

रिक्तता  

अपूर्णता रहन्थ्यो


तिमी पूर्ण वर्तुल थियौ

तिम्रो परिधिमा म निरन्तर घुमिरहन्थेँ

पृथ्वीले सूर्यको परिक्रमण गरे झैं


तिमी  महाआकाश थियौ

जहाँ म तारा नक्षत्र झैं उदाउँथे 

अस्ताउँथें

मेरो अनन्त भूगोल थियौ

म पर्वत झरनासँग लुकामारी खेल्थेँ


जान्दिन,

लौकिक थियौ वा अलौकिक

दिव्य थियौ या दैहिक

तिलस्मी या मायावी

देवी  या दासी

नर या नारायणी

भोजन या भजन

पुराण या कुरान

मन्दिर या मस्जिद

काशी या कावा


खै के भनौं

महा आकाश

महा प्रकाश

पावन जल

उर्वर थल

तेजस सूरजी

शीतल रजनी

मन्द पवनी

जीवन जननी

समग्रमा,

तिमी अनन्त ब्रह्माण्ड थियौ

मेरो शुक्ष्म जगतको


प्रभा अधिकारी

सूर्यविनायक - ५

भक्तपुर








Friday, July 8, 2022

पुनः जन्म

 


पुनः जन्म 

आज यस्तो पागलपन सवार भयो 
 चैतन्य पुरुषको भनाई सापटी लिँदा 
 अनन्त ब्रह्माण्डमा सबै कुरा निरन्तर घुमिरहन्छ
  दिन - रात 
 सुख - दुःख 
 प्रेम - घृणा 
 जन्म - मृत्यु 
 यि द्वन्दात्मक शब्द होइनन् 
 वृत हुन् 
 चक्रीय छन् 
 दुई छेउ 
 मात्रात्मक भेद 
 कतै पढेकी थिएँ, 
 आखिरी वासनाले मानवलाई पुनः जन्म गराउँछ 
वासना रहित मोक्षको उपलब्ध हुन्छ 
 आमा, तिमी पनि वासना लिएरै देह छोडेकी थियौ 
यस अर्थमा तिमी फेरी यही धर्तीमा आएकी छ्यौ 
 कुन ठाउँमा 
कुन गाउँमा 
 कुन रुपमा 
कुन लुकमा 
कुन देशमा 
कुन भेषमा 
देह छोडेको तीनदेखि तेह्र दिनभित्र गर्भ प्रवेश हुन्छ रे 
त्यसो भए, 
तिमी जन्मी, हुर्की, बढी, पढी सोह्र वर्षकी किशोरी भैसकेउ 
तिम्रा तिर इन्टरनेट छ कि छैन 
तिम्रो पहुँचमा छ कि छैन 
फेसबुक खोलेकी छ्यौ कि छैनौ 
साँच्ची, छोरा भयौ कि छोरी 
मेरी फ्रेन्ड छ्यौ कि छैनौ 
मलाई चिन्छ्यौ कि चिन्दिनौ 
कहिले काँही हाम्रो जम्का भेट पनि होला 
एक अर्कालाई हेर्छौं होला हाँस्छौं होला 
अचम्म तिमी अन्जान म अपरिचित 
त्यही भएर ज्ञानीहरुले जगत मिथ्या भनेका होलान् 
सपना जस्तै 
कस्तो अनौठो 
मेरै नातामा छ्यौ कि छैनौ 
अहिले पुनः जन्मको कुराले मन तिलमिलायो 
के थाहा ? 
मेरो छोरा, मेरो बाबु, हजुर बा- आमा 
मेरै पुर्वज या अन्य कुनै नाताको या शत्रु पो के थियो होला ? 
अरु व्यक्ति पनि... 
मेरा सब नाता सपना पो लाग्न थाल्यो 
म नै के थिएँ 
कस्ती थिएँ होला 
केटा - केटी 
सज्जन - दुर्जन 
सतिसाबित्री - गणिका 
महा धनि - महा दरिद्र 
उँच - नीच 
के थाहा ? 
भरखर पशु योनी सकेर मानव पो भएँ कि 
यसरी सोच्दा त  सबै घमण्ड चकनाचूर हने 
अहमको गला रेटिने 
पद, प्रतिष्ठा, यश, धन, दौलत सबैको प्यास मेटिने 
अँ, अघि उठेको वासनाको कुरा 
धेरै ठुलो थिएन तिम्रो चाह 
आखिरी घडीमा तिमीले "बाबुको सन्तान हेर्न मन छ" भनेकी थियौ तिम्रो बाबुका दुइ छोरा 
कुशल मङ्गल छन् 
तिम्रो पुनः जन्म भएको भए 
के थाहा त्यही जेठो भदा तिमी नै पो हौ कि 
जे होस् तिम्रो जेठो नाति तिम्रै उमेरको भैसक्यो 
त्यतै नजिकै जन्मेकी भए सँगै पढ्दा हौ 
लुकामारी खेल्दा हौ 
दुबै अन्जान 
दुबै नादान 
दुबै अपरिचित 
फेरी नयाँ नाता 
नयाँ सम्बन्ध 
के थाहा 
अन्य गोत्र थरमा छोरी भएर जन्मेकी भए प्रेम पर्ला 
विवाह होला 
खै के के 
सोच्न बुझ्न गाह्रो रहेछ जगत 
भयो अब अगाडी नसोचौं 
नलेखौँ 
रोक्नै कल्याण देखेँ 
जे होस् चिन्यौ भने लाइक कमेन्ट गर है माते 

प्रभा अधिकारी 
सूर्यविनायक-५ 
भक्तपुर

Wednesday, June 29, 2022

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते।










ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते। 
 पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते॥ - वृहदारण्यक उपनिषद् 
 
पूर्ण सृष्टिको परिधिमा 
पूर्ण छन्, हर एक 
तिम्रो सत्तामा मेरो सार्थकता कति???
शायद शून्य 
मेसिनको रचना होइन 
एकै ढाँचामा ढल्न 
प्राकृत साँचोको सृजना 
अतुल्य दिव्यता 
अनन्त क्षमता 
असिम सम्भावना 
जरुरत थोरै प्रयासको 
पर्खाइको 

रोजाइ स्वयंको 
पतन या उत्थान 
नर या नारायण 
पशु या पशुपति 
असुर या सुर 

शायदै, मेरो आशिषको अर्थ रहला ? 
किनकी, तिमी मै समाउँछन् 
कृष्ण - क्राइस्ट 
बुद्ध - पैगम्बर 
नानक - महावीर 

भौतारिनुमा तुक नरहला 
तिमी मै छन् 
मन्दिर - मस्जिद
दरगाह - गुरुद्वार 
गुम्बा - गिर्जा 

पर्दा उघार 
तिम्रै वाणी बन्छ 
पुराण - कुरान 
आगम - त्रिपिटक 
गुरुग्रन्थ - बाइबल 

खोज, पाउने छौ, स्वयंमा 
कासी - कावा 
सारनाथ - अमृतसर 
जेरुसलेम - गिरनार 

बदल दृष्टि 
हरक्षण उत्सव 
होली - दिवाली 
प्रकाश - पूर्णिमा 
इष्टर - इद 

तिमी, पवित्रताको अपूर्व नमूना हौ 
सृष्टिको अनुपम रचना हौ 
भवसागरको बहना हौ 
"तत्त्वमसि" 
 
र, अन्तमा 
"अप्पो दिपो भव:" 
 बन्न सक्नु 
भन्न सक्नु 
"अनलहक" 
"अहम् ब्रह्मास्मि" 
ॐ शान्तिः शान्तिः शान्तिः 

इति

प्रभा अधिकारी 
सूर्यविनायक-५ 
भक्तपुर

Thursday, June 20, 2019

म यसकारण जन्मदिन मनाउँदिन



म यसकारण जन्मदिन मनाउँदिन

त्यो दिन मेरी आमा प्रसव पिडाले
छटपटिएको दिन
छोराको आसमा 
छोरी जन्मेलीकि भन्ने त्रासमा
कुनै अमूक वेदना थपिएको दिन

असारे सिमसिमे झरी र तप्त गर्मीमा
मेरी आमाका परेला रुझेको दिन

उनको ओठमा मुस्कान लेराउन नसकेको दिन
मेरी आमाको सातौं प्रयास पनि खेर गएको दिन
आश मरेको दिन
पुन: अर्को प्रसवको लागि तयार हुन बाध्य भएको दिन

यि सब कुरा मेरा कल्पनामा आउँदा
मेरी जननीको मलिन मुहार छाउँदा
म संभवत भक्कानिएकी!!!
सुँक्क सुँक्क रोएंकी???
तब, म कसरी यस धर्तिमा 
आफ्नो उपश्थिति जनाउँ?
म कसरी आफ्नो जन्म दिन मनाउँ??

उनको सपना हुरीले उडाएको दिन
आशामा खडेरी लागेको दिन
" फेरी पनि छोरी" को आवाजसंगै 
उनका आँखा बन्द भएको दिन
मलाई हेर्ने हिम्मत जुटाउन नसकेको दिन
प्रेमले सुम्सुम्याउन नसकेको दिन
फेरी अर्को पीडामय यात्राको लागि 
तयार भएको दिन

यि सब घटना मेरो मानसपटलमा घुमिरहंदा
तिनको विछिप्त अनुहार उजागर बनिरहंदा
म कसरी हांस्न सक्छु?
म कसरी दियो जलाउन सक्छु?
म कसरी Happy birthday को करतल सहितको
ध्वनि सुन्न सक्छु???
तब त म यस धर्तिमा आफ्नो उपश्थिति जनाउँदिन
यसकारण
यसकारण म आफ्नो जन्मदिन मनाउँदिन


Friday, September 21, 2018

जन्म दियौ नि....



गीत

जन्म दियौ नि हे मेरी आमा अभागी मलाई
दिन बित्छ शोकमा रात बित्छ मेरो ( आशु नै बगाई)

मै रोई बस्छु संझेर तिमी विरानो ठाऊँमा
पाउँदिन प्यारो बाबाको माया पराय आँगनमा
जन्म दियौ नि हे मेरी आमा अभागी मलाई
यो जुनी मेरो बित्ने भो यसै ( सिरानी भिजाई)

बादलु तिमी पठाईदेऊ बाबा जाऊ चांडै भनेर
टोलाऊँछन् आँखा दोबाटो तिर अौंला नै गनेर
जन्म दियौ नि हे मेरी आमा अभागी मलाई
जीन्दगी मेरो बित्ने भो त्यसै ( चोलिया भिजाई)


16th  Feb. 1998

Monday, June 4, 2018

क्षीर सागर मन्थन गर्दा के के निस्किएका थिए ?



वैदिक कालमा सागर मन्थन गर्दा निस्किएका चौध रत्न 

लक्ष्मी : कौस्तुभ पारिजातकसुराधन्वंतरिश्चन्द्रमा :/

गाव : कमदुहा  सुरेश्वरगजो  रम्भादिदेवांगना : //
अश्व : सप्तमुखो  विषं  हरिधनुः  शंखोमृतं  चाम्बुधे : /
रत्नानीह  चतुर्दश  प्रतिदिनं  कुर्यात्सदा  मंगलम : //


१. कालकूट ( हलाहल )

२. ऐरावत 

३. कामधेनु 

४. उच्चैः श्रवा 

५. कौस्तुभमणि 

६. कल्पवृक्ष 

७. रम्भा  ( अप्सरा )

८. लक्ष्मी 

९. वारुणी ( मदिरा )

१०. चन्द्रमा 

११. पारिजात 

१२. शंख 

१३. धन्वन्तरि 

१४. अमृत 



Sunday, April 1, 2018

LOVE THE NATION


मेरो देस

बुध्दको अहिंशा परमोधर्मको उपदेश
छरिएको देशमा
बन्दुकको नाल र तरवारको धारबाट 
शान्ति खोजिन्छ भने
धार्मिक सहिष्णुता खलबलिंदा र भातृत्वको
भावना विचलित हुंदा
देसमा सामाजिक परिवर्तन आएको
सोचिन्छ भने
मलाई बुध्द र बुध्दत्वको बारेमा सोध्न मन लाग्छ
मलाई शान्ति र परिवर्तनको अर्थ खोज्न मन लाग्छ



नेपाली कला, शौन्दर्य र इतिहास बोकेका धरोहरहरु 
भत्काएर / नासेर
राष्ट्र विकासका संभावना खोजिन्छ भने 
अरुलाई लान्छना लगाएर र गाली गरेर 
आफूलाई पवित्र र दोष रहित सोचिन्छ भने 
मलाई विकास र विनासलाई समानार्थी शब्द भन्न मन लाग्छ 
मलाई गालीगलौज नै पवित्र शब्द जस्तो लाग्छ 



नेताका स्वार्थपूर्ण भाषण र शासनलाई 
जनमत र जनसत्ता भनिन्छ भने 
आफ्ना कल्मषलाई लुकाएर /छिपाएर 
प्रतिपक्षको शब्द शब्दमा 
जालसाजी खोजिन्छ भने 
मलाई जनमत र जनसत्ताको अर्थ भ्रम लाग्छ 
मलाई लोकतान्त्रिक अभ्यास प्रति नै शङ्का लाग्छ 


स्वार्थपूर्ति गर्न जनमतको हवाला दिएर 
हत्या हिंसाको बाटो रोजिन्छ भने 
हत्या , बलत्कार र अपहरणको जघन्य अपराधमा 
आम माफीको मार्ग खोजिन्छ भने 
मलाई हत्या हिँसा  नै हाम्रो धर्म भन्न मन लाग्छ 
मलाई जघन्य अपराध नै मानव  अधिकारको मर्म भन्न मन लाग्छ 



राष्ट्रिय संस्कृति र अस्मिता 
सामाजिक मान्यता र आस्थाहरुमा खलल आउँदा 
राष्ट्रिय एकता ,शान्ति मैत्री 
सदभाव र सहिष्णुतामा विचलन छाउँदा 
प्रत्येक नेपालीको छाती दुख्नु पर्छ 
हरेक राष्ट्र प्रेमीको घाँटी सुक्नु पर्छ 


राष्ट्र , राष्ट्रियता , लोकतन्त्र र मानव अधिकारको 
सम्मान हुनु पर्छ 
नेपाली कला , सौन्दर्य , आदर्श र वैशिष्टयको 
संरक्षण र सम्बर्धन हुनु पर्छ 
आफु नेपाली भएकामा गौरव गर्न सक्नु पर्छ 
गौरव गर्न सक्नु पर्छ 





yahaako chalan


यहाँको चलन 

एउटै ईश्वरका सन्तान नारी अनि  पुरुष 
 एउटै सिक्काको दुई भाग 
तर समान न्याय छैन यहां नारीको लागि 

चाहेको बखतमा खेल्न पाइन्छ - ऊ खेलौना हो 
जहिले पनि किन्न सकिन्छ - ऊ बजारको वस्तु हो 
चाहेको खण्डमा लिन सकिन्छ दिन सकिन्छ 
बजारको मूल्यहीन वस्तु हो - ऊ 

ऊ प्रदर्शित हुन्छे - खुल्ला मंचहरुमा 
लीलामित हुन्छे - हरेक बजारहरुमा 
कती सस्तो छ उसको जिंदगी 
चैत्रको आंधीमा उडेको धूलो जस्तै 
नांगै नांगै नचाइन्छ - ऐय्याशीका महलहरुमा 
त्यसैले ,
ऊ बेइज्जत चिज मानिन्छे 
तैपनि 
बाँडींछे - इज्जतदारहरुमा 
आखिर उ - के हो ?


यहाँ ,
पुरुषको निम्ति   हर अन्याय छुट 
नारीको लागि रुन पनि मुस्किल 
पुरुषको निम्ति हजारौ बंगला 
नारीको लागि केवल एक चीता 
वाह ! न्यायको फैसला !!

नारीकै कोखमा उसको वास हुन्छ
आखिर पुरुष त्यही कोखको कारोबार गर्छ 
कती नीच स्वार्थ !
जुन अधरले उसलाई चुम्छन 
ऊ त्यही अधरको लिलाम गर्छ 
कती मूल्यहीन मानवता !!
साँच्चै यही मानवता हो ?!!


पुरुषको बलियो पञ्जा भित्र 
उसका हर अधिकार कुण्ठित गराइन्छ 
उसका सारा ख़ुशी लुटेर 
जिउदै चितामा जल्न बाध्य बनाइन्छ 
तैपनि ,
भाग्यले दिएका हरेक आँशुका थोपालाई 
अलौकिक सुख मान्छे - ऊ 
संसारको हर निर्लज्जा उसलाई दिइन्छ 
जींदगीका सयौँ अधिकार र खुशीबाट बन्चित गराइन्छ 
पुरुषको हर तालमा नचाइन्छ 
त्यसैले ,
ऊ  जिन्दगीको हर पाइलामा पापको भागी बन्छे 

ऊ  एक देवी हो विधाता हो संसारकै भाग्य हो
तर ऊ अभागी छे
उसको भाग्य खोटो छ
ऊ संसारका सबै भगवानकी जन्मदायिनी हो
तर ऊ सैतानकी छोरी हो
ऊ एक अभागी आमा पनि त हो

किनकी ,
जानिजानि आफ्नै छोराको हातमा खेल्न वाध्य छे
आँखा भरि आंशका लाखौँ भरि घड़ा भएर पनि
बलियो बाँध लगाएर अधरमा मुस्कानको लाली पोत्न विवश छे
कती विवश छ उसको जिन्दगी !
पलपल मन जलाएर विवशताको पर्खालमा उभिन वाध्य छे
कुनै दिन ढल्न पनि त सक्छे

लज्जाका गहना लगाएर पनि नांगै खुला सडकमा नाच्न मजबूर छे
त्यसैले ,
ऊ एक मजबूर नारी हो
भाग्यले ठगेकी अभागी हो


उसका विवश ओठमा लाखौँ  खुशीका बाहाना छन
कयौं मुस्कानका रेखा छन

तर ,
लोचनभरि सावन छचल्किएको छ
दिल भित्र आगो दन्किएको छ
छाती भित्र भित्रै चर्किएको छ
मन चोईटिएको छ
कुंडिएको छ
दुखेको छ

उसका   मनभरि अनेकौं चाहानाका कोपिला छन
दुर्भाग्य !
उ विना मौसममै चुँडिन्छे ,
लुटिन्छे ,
कुल्चीन्छे
गल्लीमा वेवारिस भई फालिन्छे
नयनभरी सपनाका अनगिन्ती महलहरु छन
तर अफशोच !!
निर्माणाधीन मै भत्काइन्छ - वालुवाको घर झैँ
जलाइनछ - पत्करको मन्दिर झै
उड़ाईंनछ - कागजको चंगा झैँ

Saturday, March 31, 2018

MALAI MAN LAAGYO



मलाई मन लाग्यो 

अब त कोइलीको मीठो स्वर पनि 
नमीठो झर्को लाग्ने हुन थाल्यो 
सुन्दर हरियाली पनि वइलिएर 
नरमाइलो लाग्नथाल्यो 
अब त झरनाको  मीठो गीत पनि 
कानमा मृत्युको घण्टा झै बज्न थाल्यो 
क्रंदनमा हाँसेर धर्तीमा बाँच्नु भन्दा 
मलाई अग्निमा जलेर मर्न मन लाग्यो 

अब त हरियाली सुन्दर वसन्त पनि 
उराठ लाग्दो मरुभूमि जस्तो लाग्नथाल्यो 
कोमल फूल पनि 
कडा पत्थर जस्तो लाग्नथाल्यो 
अब त उज्यालो दिन पनि 
अध्यारो रात जस्तो लाग्नथाल्यो 
यस धर्तीमा तड़पन सहेर बाँच्नु भन्दा 
मलाई अग्निमा जलेर मर्न मन लाग्यो 

अब त दुई थोपा आँशु र शीतल पवन पनि 
भीषण वर्षा र आंधीवेरी जस्तो लाग्नथाल्यो 
मायालु मीठा वचन पनि 
तीखा वाण झै मुटुमा घोच्न थाल्यो 
अब त जीवनको मीठो कहानी पनि 
तितो विष झै लाग्नथाल्यो 
यस धर्तीमा आँशु आँशुको ज्वाला पिएर बाँच्नु भन्दा 
मलाई अग्निमा जलेर मर्न मन लाग्यो 

अब त बिहानको कलिलो घाम पनि 
हृदय जल्ने चर्कीलो जस्तै लाग्नथाल्यो 
अतीतका मीठा पानाहरु पनि 
घाउ जस्तै बेसरी पोल्न थाल्यो 
अब त मगमगाउने वासना पनि 
गन्हाउने कसिङ्गर जस्तै लाग्नथाल्यो 
यस धर्तीमा जलन सहेर बाँच्नु भन्दा 
मलाई अग्निमा जलेर मर्न मन लाग्यो 

अब त निश्तब्ध स्थानमा पनि 
कोलाहल र चिच्याहट जस्तो लाग्न थाल्यो 
स्वतन्त्र भएर हिंडे पनि 
बन्धनमा बांधिए झै लाग्न थाल्यो 
अब त काखको न्यानो माया पनि 
क्रोधको ज्वाला जस्तो लाग्नथाल्यो 
यस धर्तीमा अज्ञात भएर बाँच्नु भन्दा 
मलाई अग्निमा जलेर मर्न मन लाग्यो 

अब त इतिहासमा कोरिएका कथाहरु पनि 
आफ्नै  व्यथा जस्तै लाग्नथाल्यो 
ओठहरुका मधुर मुस्कान पनि 
जीवनको शत्रु झै लाग्नथाल्यो 
अब त यथार्थ विपना पनि 
रातमा देखिएको सपना जस्तै लाग्न थाल्यो 
यस धर्तीमा रोदन सहेर बाँच्नु भन्दा 
मलाई अग्निमा जलेर मर्न मन लाग्यो 

  गणतन्त्र दिवस राजतन्त्र  निरङ्कुशतन्त्र  प्रजातन्त्र  एकदलीय प्रजातन्त्र  बहुदलीय प्रजातन्त्र  शाहीतन्त्र  शिशु प्रजातन्त्र  लोकतन्त्र  अन...