दुबोको उत्पति र दुर्वाष्टमी व्रत
भाद्र मास शुल्क पक्षको अष्टमी तिथिलाई दुर्वाष्टमी भनिन्छ। यो तिथिलाई अत्यन्त पवित्र मानिन्छ। यस पुण्य तिथिमा श्रद्धापूर्वक व्रत वस्नाले वंशको क्षय हुदैन। दुबोसरी कूलको वृद्धि हुन्छ। अर्थात् मौलाउँछ।
जब देवता र दानव मिलेर अमृत प्राप्त गर्न क्षीर सागर मन्थन गर्न थाले। तब मंदराचल पर्वतलाई मदानी बनाइयो। मंदराचल पर्वतलाई भगवान विष्णुले आफ्नो जंघामा दुवै हातले समातेर धारण गर्नु भयो। मंदराचल पर्वतको घर्षणले भगवानको जंघाको रौँ बटारिएर उखेलियो। अनि सागरमा खस्यो। त्यो रौँ सागरको लहरले किनारमा पाखा लगाइदियो। त्यो रौँ हरित वर्ण भइ सुन्दर एवं शुभ दुबोको रुपमा प्रकट भयो। सागर मन्थनबाट निस्केको अमृतको घडालाई देवताहरुले त्यही दुबोमाथि राखे। घडाबाट खसेको अमृतको थोपा दूबोमा पर्यो। अमृतको स्पर्शले दुबो अजर अमर बन्यो। त्यसैले यो भगवानको लागि अति नै पवित्र मानिन्छ।
देवताहरुले भद्र मासको शुल्क पक्षको अष्टमीको दिनमा गन्ध ,पुष्प ,धूप ,दीप ,नैवेद्य ,खर्जुर ,नरिवल ,द्राक्षा ,कपित्थ ,नारंग ,आम्र ,वीजपूर ,दारिम आदि फल तथा दही ,अक्षता ,माला आदिले मन्त्र द्वारा पूजा गरे।
त्वं दूर्वे $मृतजन्मासि वन्दिता च सुरासुरै :/
सौभाग्यम सन्ततीं कृत्वा सर्वकार्यकरी भय //
यथा शाखाप्रशाखा त्वार्मिविस्त्रितासि महितले /
तथा ममापी सन्तान्म देहि त्वमजरामरे // (महाभारत ,उत्तर पर्व ,५६ /१२ -१३ )
देवता उनीहरुका पत्नी तथा अप्सराहरुले पनि पूजा गरे। मर्त्यलोकमा पनि वेदवती ,सीता ,दमयन्ती आदि स्त्रीहरुले दूबोको पूजा गरेर आफ्नो अभिष्ट पूरा गरेका थिए।
जो नारी स्नान गरेर शुद्ध वस्त्र धारण गरेर दूबोको पूजा गरेर तिल्पिष्ट ,गोधूप तथा सातधान्य आदिको दान गरेर ब्राम्हणलाई भोजन गराउँछिन् तथा यो अष्टमीको व्रत बस्छिन्। उनी पुत्र ,सौभाग्य ,धनधान्यले पूर्ण भइ संसारका सबै सुख प्राप्त गर्दछिन। साथै मृत्यू पछि पति सहित स्वर्गमा निवास गर्दछिन।
(भविष्य पुराण ,अध्याय ५६ बाट साभार )