गणतन्त्र दिवस
राजतन्त्र
निरङ्कुशतन्त्र
प्रजातन्त्र
एकदलीय प्रजातन्त्र
बहुदलीय प्रजातन्त्र
शाहीतन्त्र
शिशु प्रजातन्त्र
लोकतन्त्र
अनि गणतन्त्र
धेरै खोला तरियो
अनेकबार उकाली ओराली गरियो
पटकपटक चोला फेरियो
कहिले मजधारमा त
कहिले दोधारमा परियो
“जाँदा पनि उकालो आउँदा पनि उकालो”
फेरियो,
नाम
दाम
सलाम
अनि कलाम
अझै,
सत्ता
भत्ता
अनि लत्ता
फेरिएन,
राज
काज
साज
अझै,
मुहार
गुहार
अनि जुहार
“जुन जोगी आए पनि कान चिरिएको”
राजनीति,
वातको
भातको
हातको
अनि लातको
यति मात्रै हो र !
हुटको
लुटको
गुटको
फुटको
छुटको
झुटको
बुटको
अनि सुटको (shoot)
अझै भन्नुपर्दा,
जेलको
नेलको
खेलको
झेलको
कहाँ सकिनु यति मै,
सुनको
गुनको
थुनको
बाँकी छ, अनन्त श्रृङ्खला
हाउडाको
लाउडाको
खाउडाको
अँ, के भन्नु खै ?
भोकको
रोगको
शोकको
………
………
………
र, अन्तमा
लोभको
लाभको
अनि विलापको
“हिस्स बुढी हरिया दाँत् , फरिया फुकाल् आँगनमा नाँच् ”
के दिनु खै?
नाम मात्रको गणतन्त्रको - शुभकामना
साज सज्जा र लिपापोती मात्र
नवदुलहीको जस्तो
आउँदा ढोल पिटेर आउने
भोलिपल्टदेखि एउटा कुनामा थच्चिने
गुमनाम, बेखबर, बेवारिसे
नाम, काम, दाम, माम, सबैमा
अरुको मुख ताक्नुपर्ने
कहिले सबै पञ्च नेपाली
कहिले सबै नेपाली पञ्च
कहिले जय देश, जय नरेश
कहिले जय नेपाल
कहिले अभिवादन
कहिले लाल सलाम
जहिले जसको पछि पनि
आँखा चिम्लेर दौडने
प्रबुद्ध मलाई मेरै राम ! राम !!
अफसोस !
“भिरबाट लड्ने गोरुलाई काँध थाप्न सकिँदैन”
बिचरा!
कठैबरा !!
च्व: च्व: च्व: !!!
अझै आस मरेको छैन
“चरेस खानु तर हरेश नखानु”
व्यग्र प्रतिक्षामा
क्रमश:
गाँडेतन्त्रको
भाँडेतन्त्रको
अनि साँढेतन्त्रको
इन्कलाब - जिन्दाबाद !
प्रभा अधिकारी
सूर्यविनायक - ५
भक्तपुर