भोक
२०७७/०३/११ बिहिबार
तिम्रो भोकको जिम्मेवार
म कसरी हुन सक्छु ?
कुम्भकर्णको सन्तती हुँ म
मेरो भोक ठूलो छ
भिमसेनको भाई हुँ म
मेरो उदर भारी छ
सलहको आफन्त हुँ म
पेटमा दावानल बसेको छ
रबर जस्तै तन्किन्छ
तिम्रो पेट हेरौं कि मेरो ?
तिम्रो भोक ठूलो कि मेरो ?
मेरो पेटमा चौबिसै घण्टा
घट्ट चलिरहन्छ
ओइरो नभए
दाँत रड्किन्छ
मेसिन बिग्रिन्छ
मलाई यस्तो आमाशय दिने
भगवानलाई उजुर गर
बहस गर
फैसला सुनाउ
तिम्रो १५/२० रुपैंयाँको भोक
गुन्द्रुकको झोलले मेटिन सक्छ
खोले सिस्नोले भरिन सक्छ
मेरो पहिरो जत्रो भोक
अरबको गढ्डीले तै तै भरिन्छ
अझै भोक मेटिए झैं लाग्दैन
खै, डकार आएकै छैन
नरभक्षी नभन मलाई
अघोरी बाबाको अवतार हुँ
तिम्रो शरीरको नूनिलो पसिनाको
गन्ध मन पर्छ
रगत र मासुको स्वादमा
जिभ्रो लठ्ठीएको छ
तिमी भोकै भए पनि
भूँडी ढाडिने गरी खाए पनि
तिम्रो पसिना, रगत र मासुको स्वाद
नुनिलै हो क्यारे
खाएर मर या भोकै मर
घण्टाकर्णले सुम्पिएको मेरो विरासत
मांस, मज्जा, रगत मन पर्छ
बकासुरलाई झैं
तिमी मलाई आफ्नै बलि देउ
अन्न छुँदैन - मेरो मुखले
चपाउँदैन - दाँतले
निल्दैन - गलाले
पचाउँदैन - प्याङ्क्रियाजले
सुकसुकाउँदा खैरा हात्तीहरु
गर्जने पाटे बाघहरुको
गन्ध मन पर्छ मलाई
यस्तैमा अभ्यस्त छन् - मेरा दाँत
गला अनि
प्याङ्क्रियाज
तिमी अन्नले अघाउने
जे खाए पनि भयो
किन मेरै पछि लाग्छौ ?
धर्ती माताले अनगिन्ती अन्न बाली,
वनस्पति,
हावापानी दिएकी छिन्
तिमी त्यसैले भोक मेटाउ
गला रसाउ
जीवन चलाउ
प्रभा अधिकारी
सूर्यविनायक - ५
भक्तपुर
No comments:
Post a Comment