बुद्धको अहिँसा परमो धर्मको उपदेश छरिएको देसमा
बन्दुकको नाल र तरवारको धारबाट शान्ति खोजिन्छ भने
धार्मिक सहिष्णुता खलबलिँदा र
भातृत्वको भावना विचलन हुँदा
देसमा सामाजिक परिवर्तन आएको सोचिन्छ भने
मलाई बुद्ध र बुद्धत्वको बारेमा सोध्न मन लाग्छ
शान्ति र परिवर्तनको अर्थ खोज्न मन लाग्छ
नेपाली कला, सौन्दर्य र इतिहास बोकेका
धरोहरहरु भत्काएर,नासेर
राष्ट्र विकासका संभावना खोजिन्छ भने
अर्कालाई लान्छना लगाएर गाली गरेर
आफूलाई पवित्र र दोष रहित सोचिन्छ भने
मलाई विनास र विकासलाई
समानार्थी शब्द भन्न मन लाग्छ
गाली गलौज नै पवित्र शब्द जस्तो लाग्छ
नेताका स्वार्थपूर्ण भाषण र शासनलाई
जनमत र जनसत्ता भनिन्छ भने
आफ्ना कल्मषलाई लुकाएर,छिपाएर
प्रतिपक्षको शब्द शब्दमा
जालसाजी खोजिन्छ भने
मलाई जनमत र जनसत्ताको अर्थ भ्रम लाग्छ
लोकतान्त्रिक अभ्यास प्रति नै शंका लाग्छ
स्वार्थ पुरा गर्न जनमतको हवाला दिएर
हत्या हिंसाका बाटो रोजिन्छ भने
हत्या, बलत्कार र अपहरणको जघन्य अपराधमा
आम माफीको मार्ग खोजिन्छ भने
मलाई हत्या हिंसा नै धर्म भन्न मन लाग्छ
जघन्य अपराध नै
मानव अधिकारको मर्म भन्न मन लाग्छ
राष्ट्रिय संस्कृति र अस्मिता
सामाजिक मान्यता र आस्थाहरुमा खलल आउँदा
राष्ट्रिय एकता, सद्भाव र सहिष्णुतामा विचलन छाउँदा
प्रत्येक नेपालीको छाती दुख्नु पर्छ
हरेक राष्ट्र प्रेमीको घाँटी सुक्नु पर्छ
राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र मानव अधिकारको
सम्मान हुनुपर्छ
नेपाली कला र सौन्दर्यको संरक्षण र सम्बर्द्धन हुनुपर्छ
आफू नेपाली भएको गौरव गर्न सक्नु पर्छ
गौरव गर्न सक्नु पर्छ
प्रभा अधिकारी
सूर्यविनायक-५
भक्तपुर
No comments:
Post a Comment