बालापन
लाग्दैन बालापन छुट्यो
बचपन बित्यो
युवा भएँ
प्रौढ भएँ
केवल कालको गणना बदलियो
खै कसरी छुटे भनौं
हातका खेलौना
हिजो
टालाटुलीका
माटाका
निर्जीव
आज पनि
टालाटुली कै
माटा कै
तर सजीव
खेल, खेलाडी, मैदान अनि सामानको पृथकता
आकार-प्रकार
प्राकृत-अप्राकृत
सस्तो-महङ्गो
थोरै प्रविधिको विकास
डेक्सटप
ल्यापटप
पामटप
खेल अविच्छिन्न चली रहेको छ
मात्र पात्र र परिवेश पृथक
हिजो
मनोरञ्जन
आनन्द
उत्सवको लागि खेलिन्थ्यो
हार्दा पनि मस्ती
जीत्दा पनि मस्ती
आज,
फेरियो नियम अनि चाल
रुपान्तरित खेल
चलाखीको
चाप्लुसीको
पदको
प्रतिष्ठाको
अहङ्कारको
दम्भको
प्रतिस्पर्धाको
हारजीतको
खै कहिले बढें ?
जवान भएँ ??
प्रौढ भएँ ???
मात्र केश पाक्यो
शायद खानपानले
हावापानीले
रहनसहनले
खाली छाला चाउरियो
सम्भवतः समयले
उमेरले
फेरिए खाना
नाना
जमाना
तानावाना
उहि साथ
उहि गाथ
म उहि
मेरा फरक
गए झैं लाग्दैन बाल्यावस्था
उहि मनमुटाव
छेडखानी
रुवाबासी
हाँसो खुसी
तानातान
हानाहान
लुछाचुँडी
बालहठ
प्रतिपक्ष फरक
प्रतिवादी फरक
अरु त सबै उस्तै उस्तै
चराचर जगत
ब्रह्माण्ड
पञ्च महाभूत
कालको गति
प्रकृतिको नियम
तनमन उही
थोरै भेद
आकार-प्रकारमा
रुपरङ्गमा
चालढालमा
हालचालमा
लाग्छ, आज पनि बाल्यकाल मै छु
शायद युवा भइन
प्रौढ रहिन
हुनसक्छ, बृद्ध पनि हुने छैन
बाल्यकाल मै देह त्याग्ने छु
फेरी जन्मने छु
जीवन चक्र
वाल, युवा, प्रौढ, बृद्ध
उमेरको अङ्क गणित
शरीरको आकार प्रकार
रङ्गरुप मात्र
उहि तन
उहि मन
उहि खेल
उहि झेल
प्रभा अधिकारी
सूर्यविनायक-५
भक्तपुर
२०७८/०२/१३ बिहिबार
No comments:
Post a Comment