Saturday, August 20, 2022

सेनिटरी प्याड

 सेनिटरी प्याड


परमात्माको आशिर्वाद

उनैलाई धन्यवाद


पाएकोमा सृष्टिको जिम्मेवारी

म छु आभारी


हिजोको टालो

आजको प्याड

नट ब्याड


ऋतुश्राव अब रहेन झर्को

च्यात्नु पर्दैन

पटुकी फरिया या बर्को 

थोरै दाम

बडा काम


राख्न सजिलो झोलामा चट्ट

आपदमा झिक्यो सट्ट

सानो माल

काम कमाल


बाटो अफिस कतै होलाकि भन्ने डर

सिकसिक छटपट फर्कौं कि घर

भए सार

नभए असार


रज सृजनाको मूल

पाप भनि नगरौँ भूल

रजस्वलाको साथी

उपयोगिता धेरै माथि


खेलकुद या कामकाज

राख्छ नारीको लाज

२८० एमएम वारपार 

भरोसा अपार


न धुने न सुकाउने झन्झट

झिक्यो लगायो झटपट

महिलाको आस

विशेषता खास


छुइमा किन अपमान

वयस्कको संकेत अनि शान

नहुन् कोही दिक्दार 

महिनावारीको पहरेदार


मासिक श्राव, नछुनी वा छाउ

सबै मिलि होली मनाउ आउ 

नहेरौं मोल

काम अनमोल


ऋतु धर्म मासिक धर्म 

यसलाई नभनौं अधर्म 

स्वस्थ नारी

सम्वृद्ध सन्सारी


यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।

यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।। मनुस्मृति ३/५६ ।।


इति शुभम् 


प्रभा अधिकारी 

सूर्यविनायक - ५

भक्तपुर 





Wednesday, August 17, 2022

भोक

 भोक

२०७७/०३/११ बिहिबार


तिम्रो भोकको जिम्मेवार

म कसरी हुन सक्छु ?

कुम्भकर्णको सन्तती हुँ म

मेरो भोक ठूलो छ

भिमसेनको भाई हुँ म

मेरो उदर भारी छ

सलहको आफन्त हुँ म

पेटमा दावानल बसेको छ

रबर जस्तै तन्किन्छ

तिम्रो पेट हेरौं कि मेरो ?

तिम्रो भोक ठूलो कि मेरो ?

मेरो पेटमा चौबिसै घण्टा

घट्ट चलिरहन्छ

ओइरो नभए

दाँत रड्किन्छ

मेसिन बिग्रिन्छ

मलाई यस्तो आमाशय दिने

भगवानलाई उजुर गर

बहस गर

फैसला सुनाउ


तिम्रो १५/२० रुपैंयाँको भोक

गुन्द्रुकको झोलले मेटिन सक्छ

खोले सिस्नोले भरिन सक्छ

मेरो पहिरो जत्रो भोक

अरबको गढ्डीले तै तै भरिन्छ

अझै भोक मेटिए झैं लाग्दैन

खै, डकार आएकै छैन


नरभक्षी नभन मलाई

अघोरी बाबाको अवतार हुँ

तिम्रो शरीरको नूनिलो पसिनाको

गन्ध मन पर्छ

रगत र मासुको स्वादमा

जिभ्रो लठ्ठीएको छ

तिमी भोकै भए पनि

भूँडी ढाडिने गरी खाए पनि

तिम्रो पसिना, रगत र मासुको स्वाद

नुनिलै हो क्यारे

खाएर मर या भोकै मर


घण्टाकर्णले सुम्पिएको मेरो विरासत

मांस, मज्जा, रगत मन पर्छ

बकासुरलाई झैं

तिमी मलाई आफ्नै बलि देउ

अन्न छुँदैन - मेरो मुखले

चपाउँदैन - दाँतले

निल्दैन - गलाले

पचाउँदैन - प्याङ्क्रियाजले


सुकसुकाउँदा खैरा हात्तीहरु

गर्जने पाटे बाघहरुको 

गन्ध मन पर्छ मलाई

यस्तैमा अभ्यस्त छन् - मेरा दाँत

गला अनि

प्याङ्क्रियाज


तिमी अन्नले अघाउने

जे खाए पनि भयो

किन मेरै पछि लाग्छौ ?

धर्ती माताले अनगिन्ती अन्न बाली,

वनस्पति,

 हावापानी दिएकी छिन्

तिमी त्यसैले भोक मेटाउ

गला रसाउ

जीवन चलाउ


प्रभा अधिकारी

सूर्यविनायक - ५

भक्तपुर







Monday, August 15, 2022

पुरुष - परिचय

 पुरुष - परिचय


जगतका दुई दिशा

आन्तरिक - बाह्य

देहातीत - दैहिक

आत्मिक - सांसारिक 

आध्यात्मिक - भौतिक

अदृश - सदृश


आध्यात्मिक जगतमा

देह 

याने

नगर

शहर

पुर

यसको निवासी

पुरुष

अर्थात्

जीव

आत्मा

परमात्मा



सांसारिक अर्थ

फरक 

शारीरिक बनावटमा

गुणमा


प्रकृति र पुरुषको 

अण्डाणु र शुक्राणुको

मिश्रणबाट भ्रुणको सृष्टि

तेइस तेइस क्रोमोजोममा

माता पिताको योगदान

अतः

आधा नारी

आधा पुरुष


मात्र

एक क्रोमोजोमको पृथकता

नर र नारीमा

मात्रात्मक भेद

स्त्री, 

अलि कम पुरुष

पुरुष, 

अलि कम स्त्री


शरीरको ढाँचाबाट 

छाला-मांसको परत उतारौँ

अनि हेरौँ

पहिचानौँ

को नर ?

को नारी ??


प्रकृति भन्दा भिन्न

पुरुषार्थ गर्न सक्ने

पौरुष भएको

जो कोही

पुरुष



भन्छन्

"कृष्ण" एक पुरुष

बाँकी सबै प्रकृति


कोमलता

नमनीयता

सरलता

सहनशीलता

समर्पण

अनुराग

धैर्य

नारी गुण

जो पुरुष देहमा पनि हुन सक्छ


यसको विलोम

पौरुष्य

कठोरता

अहमता

असहिष्णुता

बुद्धिमत्ता

चञ्चलता

पराक्रम

पुरुष गुण

जो नारी तनमा पनि हुन सक्छ


अतः एव 

मानवलाई चार कोणबाट हेर्न सकियो

स्त्रैण स्त्री

स्त्रैण पुरुष

पौरुष्य पुरुष

पौरुष्य स्त्री


जे होस्

यो झमेलालाई यहीँ छोडौँ

स्वयंमा नारी या पुरुष खोजौँ


अनि

सृष्टिको

प्रतिक चिन्ह

लिङ्ग बनौँ

बनौँ,

शिव

अर्धनारीश्वर 


इति शुभम्


प्रभा अधिकारी

सूर्यविनायक -५

भक्तपुर







जीवन एक दृष्टि

जीवन एक दृष्टि (२०७८/०४/२२)


जीवन फूल

ताप

जलधारा

अनि पतझड

चार मौसम


फुल्नका लागि जरुरी 

सङ्घर्ष

तपश्या

अनि प्रतिक्षा


मात्र खोज्छन्

सुगन्ध

सौन्दर्य

माधुर्य

कोमलता

अनि मिठास


बिर्सन्छन्,

ताप

राप

अनि श्राप


हेर्छन्

उच्चता

सफलता

अनि मुस्कान


कयौं फूल

समयको छालसँगै

वइलाउँछन्

झर्छन्

दबिन्छन्

अनि मेटिन्छन्


वसन्त पतझडको तयारी 

पतझड वसन्तको सुरुवात

एक वर्तुल


बिचको लम्बे यात्रा

माथा मच्चि

घिस्राइ पिटाइ

थिचाइ मिचाइ

पसिना

ठेला

अनि रुधिर


जीवनको गोरेटो

विकट

सुदूर

अपार


जीवन

एउटै धारामा बहन्छ

एउटै चक्रमा घुम्छ

बाल

युवा

प्रौढ

वृद्ध

अर्थात्

भोर

दोपहर

दिवा

साँझ

फरक

केवल

सोचाइमा

बुझाइमा

भोगाइमा


चारको

आँकडा

या भनौ संयोग

जताततै

याममा

रक्तमा 

वर्णमा

आश्रममा

युगमा

सत्यमा


इति शुभम्


प्रभा अधिकारी

सूर्यविनायक-५

भक्तपुर







Sunday, August 14, 2022

बालापन

 

बालापन

लाग्दैन बालापन छुट्यो

बचपन बित्यो

युवा भएँ

प्रौढ भएँ

केवल कालको गणना बदलियो


खै कसरी छुटे भनौं 

हातका खेलौना 

हिजो

टालाटुलीका

माटाका

निर्जीव 

आज पनि 

टालाटुली कै

माटा कै 

तर सजीव 


खेल, खेलाडी, मैदान अनि सामानको पृथकता

आकार-प्रकार

प्राकृत-अप्राकृत

सस्तो-महङ्गो

थोरै प्रविधिको विकास

डेक्सटप

ल्यापटप

पामटप

खेल अविच्छिन्न चली रहेको छ

मात्र पात्र र परिवेश पृथक


हिजो 

मनोरञ्जन

आनन्द

उत्सवको लागि खेलिन्थ्यो

हार्दा पनि मस्ती

जीत्दा पनि मस्ती


आज,  

फेरियो नियम अनि चाल

रुपान्तरित खेल

चलाखीको

चाप्लुसीको

पदको

प्रतिष्ठाको

अहङ्कारको

दम्भको

प्रतिस्पर्धाको

हारजीतको


खै कहिले बढें ?

जवान भएँ ??

प्रौढ भएँ ???

मात्र केश पाक्यो

शायद खानपानले

हावापानीले

रहनसहनले


खाली छाला चाउरियो

सम्भवतः समयले

उमेरले


फेरिए खाना

नाना

जमाना

तानावाना

उहि साथ

उहि गाथ

म उहि

मेरा फरक


गए झैं लाग्दैन बाल्यावस्था

उहि मनमुटाव

छेडखानी

रुवाबासी

हाँसो खुसी

तानातान

हानाहान

लुछाचुँडी

बालहठ

प्रतिपक्ष फरक

प्रतिवादी फरक


अरु त सबै उस्तै उस्तै 

चराचर जगत

ब्रह्माण्ड

पञ्च महाभूत

कालको गति

प्रकृतिको नियम


तनमन उही

थोरै भेद

आकार-प्रकारमा

रुपरङ्गमा

चालढालमा

हालचालमा


लाग्छ, आज पनि बाल्यकाल मै छु

शायद युवा भइन

प्रौढ रहिन

हुनसक्छ, बृद्ध पनि हुने छैन

बाल्यकाल मै देह त्याग्ने छु

फेरी जन्मने छु


जीवन चक्र

वाल, युवा, प्रौढ, बृद्ध

उमेरको अङ्क गणित 

शरीरको आकार प्रकार

रङ्गरुप मात्र 

उहि तन

उहि मन

उहि खेल

उहि झेल


प्रभा अधिकारी

सूर्यविनायक-५

भक्तपुर

२०७८/०२/१३ बिहिबार






आवाज उठाऊँ

 आवाज उठाऊँ आवाज उठाऊँ साथी हो 

आवाज उठाऊँ 

 अन्याय र अत्याचारको विरोधमा 

 दमन र शोषणको विरोधमा 

 आवाज उठाऊँ                                                          

यहाँ हजारौं नारी अन्यायको जाँतोमा पिसिइरहेछन् 

अत्याचार सहँदा सहँदा पुरिइरहेछन् 

तिमी पनि त त्यही नारी हौ                                          

आउ हातमा हात मिलाऊँ 

स्वरमा स्वर मिलाऊँ                                                              

नारी स्वतन्त्रता र अधिकार प्राप्तिको निम्ति 

आवाज उठाऊँ                                                    

अन्यायीले अन्याय गर्छ, त्यो पाप हो                                            तर मुक भई हेर्नु सहनु महापाप हो 

 दमन गर्नेले दमन गर्छ                                                    

त्यो वस् अत्याचार हो 

 आँखा चिम्लिएर सहनी महापापी हो 

 त्यसैले काँधमा काँध मिलाऊँ 

हातमा हात मिलाऊँ 

मेचीकाली एकजुट बनौं                                               

नारी मुक्तिको निम्ति आवाज उठाऊँ 

नारी स्वतन्त्रता र समानता कोरा कागजमा लिखित छन् 

 मन्चको भाषण र मुखमा सिमित छन् 

गराई र व्यवहारमा कहिल्यै नविनता आऊँदैन 

अत्याचार गर्नीले गरिरहेछन् 

 थिचिनी थिचिरहेछन् 

 आज पनि उही पाषाण युगको नीति र सभ्यता छ 

 उही सत्य द्वापर युगको कानून छ 

 कसैले बुझ्दैन                                                                

यो कलि युगको एक्काइसौं शताब्दी हो 

 त्यसैले त नारी पर्खालको घेरा भित्र बन्दी छे 

 तिमीले त्यो पर्खाल भत्काउनुछ 

 अत: हातमा हात मिलाऊँ 

 काँधमा काँध मिलाऊँ स्वरमा स्वर मिलाऊँ 

 आफ्नो हक सुरक्षा र आत्म सम्मानको निम्ति आवाज उठाऊँ                                                                    

एउटा घरको चार दिवार भित्र मात्रै उसको संसार सिमित छ 

 वस् त्यही भित्तामा उसका सपना विपनाका चित्र कुँदिएका छन्                                                        

तर ति सपनाले फुल्न पाऊँदैनन् 

 विपनाले हाँस्न पाऊँदैनन् 

 किनकि पर्खालको चौघेरा भित्र कैद गरिएकिछे 

 मानौं उसले असंख्य अपराध गरेकिछे 

 त्यसैले त जन्म कैदको सजायँ भोग्दै छे 

 आफु जननी भएर आफ्नै सन्तानबाट 

 त्यसैले                                                                      

उठौं जागौं साथी हो 

 मेचीकाली एक बनौं 

 दुराचारीको बलियो बन्धन चुडाली स्वतन्त्र बन्न                                                            

आवाज उठाऊँ                                                       

आवाज उठाऊँ

                                                                                                                                                   प्रभा अधिकारी   


Saturday, August 13, 2022

म पनि आस्तिक

 म पनि आस्तिक


हो, म पनि आस्तिक नै हो

तिम्रो आस्थाको धरोहर र

मेरो विश्वासको सेतु फरक छ

तिम्रो आस्थामा मूर्तिको पूजा गरिन्छ

तिनै भगवान बनाउने हातहरुको

तिरस्कार गरिन्छ

तिम्रो हरेक शुभकर्ममा

उत्सवमा

बाजागाजाको संगीत चाहिन्छ

बिडम्बना

तिनै संगीत सर्जकको छोइछिटो गरिन्छ

तिम्रो व्यवहारमा थुप्रै छालाका सामान चाहिन्छ

अफसोच

तिनै सृजनाकारको घृणा गरिन्छ

सृजनाका मुहानलाई दलित भनिन्छ

पशु भन्दा पनि तल्लो श्रेणीमा गनिन्छ


तिमीलाई हर कदममा नारीको

साथ र सहयोग चाहिन्छ

दुर्भाग्य

उनलाई दासीको तुच्छ व्यवहार गरिन्छ


हो , यसैकारण मेरो मन भरिन्छ

आँखा रसाउँछ

तिम्रो अज्ञानतामा चुकचुकाउन मन लाग्छ

तिमीलाई मेरो आत्माले धिक्कार्छ


यस्तो लक्ष्मण रेखा नकोरिएको

भेदभाव विनाको 

उच्च विचार र समभाव रहेको

मेरो आफ्नै सम्प्रदाय छ

तिम्रो भन्दा फरक ईश्वरमा मेरो विश्वास छ

जसले पैतालाबाट मानवको सृष्टि गर्दैनन्

जसले नारीलाई नरकको द्वार भन्दैनन्

जसले विभेदको पर्खाल खडा गर्दैनन्


झरी पर्दा होस् वा घाम चर्किंदा होस्

एउटै छातामा ओत लगाउँछन्

साझा छानो मुनि आश्रय दिन्छन्

एउटै मुहानको पानी पिलाउँछन्

मानिसलाई मानव भै बाँच्न सिकाउँछन्


म यस्तै भगवानमा आश्था राख्छु

विश्वास गर्छु

हो, म पनि आस्तिक नै हो


प्रभा अधिकारी

सूर्यविनायक-५

भक्तपुर



Friday, August 12, 2022

जीवन एक दृष्टि

 जीवन एक दृष्टि (२०७८/०४/२२)


जीवन फूल

ताप

जलधारा

अनि पतझड

चार मौसम


फुल्नका लागि जरुरी 

सङ्घर्ष

तपश्या

अनि प्रतिक्षा


मात्र खोज्छन्

सुगन्ध

सौन्दर्य

माधुर्य

कोमलता

अनि मिठास


बिर्सन्छन्,

ताप

राप

अनि श्राप


हेर्छन्

उच्चता

सफलता

अनि मुस्कान


कयौं फूल

समयको छालसँगै

वइलाउँछन्

झर्छन्

दबिन्छन्

अनि मेटिन्छन्


वसन्त पतझडको तयारी 

पतझड वसन्तको सुरुवात

एक वर्तुल


बिचको लम्बे यात्रा

माथा मच्चि

घिस्राइ पिटाइ

थिचाइ मिचाइ

पसिना

ठेला

अनि रुधिर


जीवनको गोरेटो

विकट

सुदूर

अपार


जीवन

एउटै धारामा बहन्छ

एउटै चक्रमा घुम्छ

बाल

युवा

प्रौढ

वृध्द

अर्थात्

भोर

दोपहर

दिवा

साँझ

फरक

केवल

सोचाइमा

बुझाइमा

भोगाइमा


चारको

आँकडा

या भनौ संयोग

जताततै

याममा

रक्तमा 

वर्णमा

आश्रममा

युगमा

सत्यमा


इति शुभम्


प्रभा अधिकारी

सूर्यविनायक-५

भक्तपुर







बुद्धको देश

बुद्धको अहिँसा परमो धर्मको उपदेश छरिएको देसमा

बन्दुकको नाल र तरवारको धारबाट शान्ति खोजिन्छ भने

धार्मिक सहिष्णुता खलबलिँदा र

भातृत्वको भावना विचलन हुँदा

देसमा सामाजिक परिवर्तन आएको सोचिन्छ भने

मलाई बुद्ध र बुद्धत्वको बारेमा सोध्न मन लाग्छ

शान्ति र परिवर्तनको अर्थ खोज्न मन लाग्छ


नेपाली कला, सौन्दर्य र इतिहास बोकेका

धरोहरहरु भत्काएर,नासेर

राष्ट्र विकासका संभावना खोजिन्छ भने

अर्कालाई लान्छना लगाएर गाली गरेर

आफूलाई पवित्र र दोष रहित सोचिन्छ भने

मलाई विनास र विकासलाई

समानार्थी शब्द भन्न मन लाग्छ

गाली गलौज नै पवित्र शब्द जस्तो लाग्छ


नेताका स्वार्थपूर्ण भाषण र शासनलाई

जनमत र जनसत्ता भनिन्छ भने

आफ्ना कल्मषलाई लुकाएर,छिपाएर

प्रतिपक्षको शब्द शब्दमा

जालसाजी खोजिन्छ भने

मलाई जनमत र जनसत्ताको अर्थ भ्रम लाग्छ

लोकतान्त्रिक अभ्यास प्रति नै शंका लाग्छ


स्वार्थ पुरा गर्न जनमतको हवाला दिएर

हत्या हिंसाका बाटो रोजिन्छ भने

हत्या, बलत्कार र अपहरणको जघन्य अपराधमा

आम माफीको मार्ग खोजिन्छ भने

मलाई हत्या हिंसा नै धर्म भन्न मन लाग्छ

जघन्य अपराध नै

मानव अधिकारको मर्म भन्न मन लाग्छ


राष्ट्रिय संस्कृति र अस्मिता

सामाजिक मान्यता र आस्थाहरुमा खलल आउँदा

राष्ट्रिय एकता, सद्भाव र सहिष्णुतामा विचलन छाउँदा

प्रत्येक नेपालीको छाती दुख्नु पर्छ

हरेक राष्ट्र प्रेमीको घाँटी सुक्नु पर्छ

राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र मानव अधिकारको

सम्मान हुनुपर्छ

नेपाली कला र सौन्दर्यको संरक्षण र सम्बर्द्धन हुनुपर्छ

आफू नेपाली भएको गौरव गर्न सक्नु पर्छ

गौरव गर्न सक्नु पर्छ


प्रभा अधिकारी

सूर्यविनायक-५

भक्तपुर




तिमी

 तिमी

मिर्मिरेमा घडिको अलार्मसङ्गै अनिँदो आँखा मिच्दै उठ्छु

कपाललाई समेटेर गुजुल्टो पार्दै कुचो समात्न पुग्छु

बिहानीको मीठो निन्द्रामा सबै निर्लिप्त हुँदा

चोटा देखि लुटुपुटु गर्दै आँगनसम्म पुग्छु

तिमी पनि सिरानी च्याप्प च्यापेर

ओछ्यान तताइ रहन्छौ

जग्गे घुम्दा खाएका कसम

तिमीले बिर्सेउकी भनि मनमा चहराइरहन्छौ


अँध्यारोमा चोटामा उक्लँदा

तलबाट बाले ''नानी नानी '' बोलाएको सम्झिन्छु

आँगनको डिलमै रहेको शौचालय जाँदा

आमालाई पाले बनाएको सम्झन्छु

साँच्चै तिम्रो घरमा छिरेदेखि

मेरा सबै डर खै कता भागे

किन यति सजिलै लाखापाखा लागे

तिम्रो नाम जोडिएदेखि

मेरो नाम फेरिएकोछ

काम फेरिएकोछ

पहिरन फेरिएकोछ

चारैतिर काँडे तारले घेरिएकोछ


सगरमाथा झैँ उच्च रहने मेरो शीर

कठघरामा उभिएको अपराधिको जस्तो नुहेकोछ

परेड खेल्ने सिपाहीको झैँ चौडा छाति

बत्तिस इन्चमा खुम्चिएकोछ

मृग झैँ उफ्रिँदै हिड्ने मेरा पदचाल

हँस चालमा बदलिएका छन्


ममा यति धेरै परिवर्तन आउंदा

तिमीलाई ठाँगेले पनि छोएन

तिमी जे थियौ उस्तै छौ

तिम्रो समय परिवर्तन भएन

पहिरन फेरिएन

व्यवहार फेरिएन

विचार फेरिएन

फेरिएनौ तिमी

मेरा राम्रा कामले प्रशंसा पाउँदैनन्

मेरा गल्तिहरु पाइला पाइलामा खोजिन्छ

छातिमा वचनका विषालु वाण रोपिँदा

म अबोध बनेर टुलुटुलु तिम्रो मुख ताक्छु

मेरो पक्षमा उभिन्छौ कि !

वकालत गर्छौ कि !

सान्त्वना दिन्छौ कि !


अफशोस् तिमी चटक्कै मेरो हात छोडिदिन्छौ

मझधारमा धकेलिदिन्छौ

अपराधि झैँ कठघरामा ऊभ्याइदिन्छौ

अनि म नतमस्तक हुन्छु


साँच्चै जग्गेमा मेरो हात समाएर कसम खाने तिमी नै थियौ ?

 मेरो हृदयमा हात राखेर संकल्प गर्ने तिमी नै थियौ ?

या संस्कृतमा पुरेतले बोलेको लवजको अर्थ थाहा पाएनौ ?

हो, त्यहि दिनदेखि

मेरो विश्वास तिमीबाट हरायो

तिम्रो छत्रछायामा मेरो सुरक्षा हुदैन कि भनि मन डरायो

रातको अँध्यारो कोठामा मात्र तिम्रो प्रेम

बनावटी हो कि जस्तो लाग्छ

एकान्तमा देखिने तिम्रो मायाको अथाह पोखरीमा

डुबुल्कि मार्न अत्यास लाग्छ

 उज्यालोको तिमी र अँध्यारोको तिमी

म आकाश जमिनको फरक पाउंछु

म सोच्छु

यसरी नै तिमीले सबैका सामु माया बर्षाए

प्रेम छल्काए

इति शुभम्


प्रभा अधिकारी

सूर्यविनायक - ५

भक्तपुर 



मेरो

 मेरो कविता

म कुनै कवि होइन

मलाई कविताको अनुप्रास, अन्त्यानुप्रास 

छन्द, मात्रा 

लघु, गुरु केही आउंदैन

साहित्यका ओजपूर्ण शब्द पनि छैनन्

गहकिला हरफहरु पनि कतै भेटिंदैनन

नढाँटि भन्नु पर्दा 

मलाई कविताको बाह्रखरी पनि आउंदैन

मेरो कवितालाई कविता भनिदिनु पर्दैन

किनकि यो परम्परागत नियमको विपरित छ

गीत त झन भन्नै मिल्दैन

लय, सुर, ताल केही मिल्दैन

गजल भन्दा बढी त यो पजल जस्तो छ

रदीफ, काफिया, शेर, मतला केही भेटिन्न

यी मेरा अन्तर आत्माका वेदना हुन्

मेरो नीरस जीवनका नकहिएका कथाहरु हुन्

मेरो भोगाइ अनि करुणा र व्याथाहरु हुन्


मेरा कविताका प्लटहरु जुठो भाँडा माँझ्दै गर्दा

वेसिंनमा तयार हुन्छन्

मैला लुगा मिच्दै गर्दा वाथरुममा रचिन्छन्

कार्यालय जांदा आउंदा कहिले बाटामा त 

कहिले वसको भिडभाड मै बुनिन्छन्

तन्ना तान्दै गर्दा सिरक पट्याउँदै गर्दा तुनिन्छन्

मन भित्र कै तानमा

अनि

लिपिबद्ध हुन्छन् प्रेसर कुकरको सिटि

तरकारीको झ्याइं

र भातको छड्काइसँगै

भान्साको डाइनिङ् टेबलमा


त्यसैले

मेरो कवितामा 

कहिलेकाहीँ डाडू पन्यूउँको आवाज पनि सुनिन्छ

सुन्नेलाइ कर्कश लाग्न सक्छ

डढेको तरकारीको गन्धले नाक खुम्चिन सक्छ

करेलाको तितो स्वाद र गुन्द्रुकको अमिलोले मुख बिग्रिन सक्छ

कर्कलोले घाँटी कोक्याउन पनि सक्छ


अत:

मेरो कविताले घुम्ने मेचमा बसेर

कलात्मक टेबल ल्याम्पको 

सुनौलो उज्यालोमा लेखिएका कवितासङ्ग 

प्रतिस्पर्धा गर्न सक्दैन

मखमली सोफामा बसेर मिनरल वाटर पिएर

मूल्याँकन गर्ने न्यायमूर्तिको भेजामा घुस्न सक्दैन

अलँकार, प्रतीक, लय र छन्दमा रमाउने बानी परेका

श्रोताका थपडी पाउन पनि सक्दैन

विचरा मेरो कविता


मैले सास फेर्न पनि अनुमति लिनुपर्छ

बोल्दा शब्दशब्दमा सेन्सर लाग्छ

हिड्दा पाइला पाइलामा अंकुश लाग्छ

साँझमा सँघार नाघ्न दुई कदम ढिला हुँदा

सवालको अविरल बर्षा हुन्छ

शंकाको धार छुट्छ

स्पष्टिकरण दिन नभ्याऊदै

कठघरामा उभ्याइन्छ

फैसला मेरो पक्षमा हुँदैन


यो भाइरस युक्त हार्डडिस्क तुरुन्त फर्म्याट गरेर

भान्सामा प्रवेश गर्छु

अनि

विहानदेखि तुनिएका कविताका हरफहरु

 वेलना चौकीको साथमा समेट्न खोज्छु

कतैबाट निस्कने सुरसार गर्दैन

अहँ एक लाइन पनि झर्दैन

कलम सर्दै सर्दैन

शायद अघि डिस्क फर्म्याट गर्दा

यो पनि पार्मानेन्ट्लि डिलिट भएछ क्यार


यसरी नै मेरा कयौँ कविताहरु गर्भमै तुहिन्छन

कोपिलामै निमोठिन्छन


यस्तै आर्तनादले भरिएका

यस्तै तिता टर्रा गन्थन छरिएका 

छरपष्ट

मान्द्रोमा सुकाएका विस्कुन जस्ता

न तुक न छन्द न बन्द

कविता जस्तो लाग्न सक्दैन

माकुराको जालो जस्तो

फाटेको चोलो जस्तो

स्वाद भन्दा वेस्वाद बढि

रङ्ग भन्दा वेरङ्ग बढि

सुगन्ध भन्दा दुर्गन्ध ज्यादा

समाधान भन्दा समस्या ज्यादा


यी सबै कुरा कविताका लहर होइनन्

गजलका बहर होइनन्

मेरो जीन्दगीका कहर हुन्

मेरो जीवनका कहाली लाग्दा डगर हुन्


मैले पस्केको व्यंजनले कसैको मन तृप्त हुँदैन

शायद बेतन बिहिन कुक भएर होला

मैले सजाएका चोटा कोठामा कसैको मन रम्न सक्दैन

मैले पोतेको दैलोमा सधै राँटो रहन्छ

मैले धोएको लुगामा सधै टाटो रहन्छ


आमाको कोखमै असुरक्षित म

बाबाको घरमै वात्सल्य नपाएकि म

यो पराय घरमा के को आश गरिरहेकि छु

कस्को माया पर्खिरहेकि छु

हो

यस्तै यस्तै विरहका शब्द भरेर

अक्षर छरेर

मेरो कविता बन्छ

न कथा जस्तो

न कविता जस्तो

रमितेको रमिता जस्तो

अनि

कस्ले यसलाई कविता भन्छ

बाँझो बारी जस्तो

सिस्नाको घारी जस्तो

बोझिलो भारी जस्तो

चुहिने झारी जस्तो

विचरा मेरो कविता

इति शुभम् 


प्रभा अधिकारी

सूर्यविनायक - ५

भक्तपुर 




Thursday, August 11, 2022

न मैले केही पाउन

 न मैले केही पाउन लेखेँ न केही गुमाउन लेखेँ

न पाएँ न गुमाएँ , खाली आफैँ रमाउन लेखेँ


कोही सत्ताको दौडमा कोही बित्थाको होडमा

हार न जित खाली हात, लोक बिचित्रको देखेँ


सबै बोल्न पोख्त अपूर्व शब्द विन्यासको कला

सुन्ने खै कस्ले, मात्र आफैँ पोखिन खोजेको देखेँ


कसैलाई संसार कहर कसैलाई स्वर्गको रहर

यो भिडमा आफैंले आफैंलाई बिरानो देखें


कसैका परलोक सुधारका कुरा कसैका हातमा छुरा

यस होडमा सबैलाई एकै साथ, कालको मुखमा देखेँ




प्रभा अधिकारी

सूर्यविनायक-५

भक्तपुर

२०७७/१२/०३ मङ्गलबार


आकास यात्रा

 आकास यात्रा (२०७८/०३/२३ बुधबार)


म सिन्धु


मौनता

धीरता

गम्भीरता

शालिनता

मेरा गहना

स्वभाव


सूर्य,

आफ्नो हात पसारे

प्रेम पूर्ण निवेदन गर्छ

सुस्तरी फुस्फुसाउँछ

"आउ म तिमीलाई

आकासको सयर गराउँछु"

"पृथ्वी घुमाउँछु"

"जलचरसँग मात्र कति बस्छौ ?"

"सन्सार रमणीय छ"

"विशाल छ"

"सुन्दर छ"

उसको न्यानो स्पर्शमा

फुस्लाइमा

म लठ्ठिन्छु

खै के हुन्छ

वाष्पिभूत हुन्छु

देह हलुका बन्छ

हावा जस्तै

विस्तारै उपर उठ्छु

तानिन्छु

मज्जा आउँछ

सोच्छु, 

म कति भाग्यमानी

रविसँग प्रित लाउँछु

नभलाई आलङ्गिन गर्छु

निमेष मै स्वप्निल बन्छु

अघिसम्म रङ्ग हिन थिएँ

सेतो काया

तरलबाट वाफ

हिड्न छाडेर उड्न थालेको छु

मनमनै रमाउँछु

पवनसँग लहराउँछु


माथि माथि

अझै माथि 

कति माथि हो कति

ल रुख भन्दा

पहाड भन्दा पनि

लौ आकास छुन लागेँ

ढाकिदिएँ पुरै

लौ खा त!

सूर्यलाई पनि छेकि दिएँ

कस्ले जित्नु मलाई

म गगन, पृथ्वी

घाम भन्दा पनि ठूलो


बतासिन्छु

हतासिन्छु

आकासिन्छु

मृदङ् बजाउँछु

गीत गाउँछु

गड्याङ्ग

गुडुङ्

गडगडड…

चट्चट

ढ्याङ्

नाच्छु

सबैलाई जितेँ

विजुली बनि सकेँ

चम्किन्छु

अहा ! कति सुन्दर

गर्व लाग्छ

दौडिन्छु, अझै

धेरै माथि जानु छ

सूर्यलाई भेट्नु छ

आकासलाई उछिन्नु छ

सबैको हुर्मत लिनु छ

धज्जी उडाउनु छ

म पनि कम छैन

देखाउनु छ


समुद्रमा यस्तो आनन्द कहाँ ?

उहि किराहरुको छत्ल्याङ् छुत्लुङ

पखेटा पसार्छु

तल तिर हेर्छु

आहा ! कति उल्लास

जताततै मेरै राज


ओहो! लौ यो के भयो

खैरे भएँ

पाइला लरबराए

के हुदैछ ?

हँ! कालो

के साह्रो गह्रौँ पाइला

लौ न कति चिसो 

बोझिलो शरीर

रिङ्गटा 

वाकवाकी लागे जस्तो

लेक लागेको हो कि !

के गर्ने होला ?

लौ पहाडमा पो आइपुगेँ

जोर लगाउँछु

गति बढाउन खोज्छु

सबै व्यर्थ

ड्याम्म !!!

अवाक्

गला अबरुद्ध 

पूर्ण विराम

चिसिएँ

ए, लौ ! जमेँ

बरफ बनेँ

असिना बनेँ

पग्लिएँ

छताछुल्ल भएँ

जलधारा बनेँ

हिस्स परेँ 

जमिनमा गिरेँ

सिँचेँ

जमिनका पाटा

कहिँ ओभानो रहेन


झर्दै गर्दा माथि तिर हेरेँ

खिस्स हाँसे

मेरै जस्तो दौडमा

अनेकौं आतुर बादलका थुम्काहरु


घरबाट धेरै टाढा पो आइएछ

डाँडाकाँडा

भिरपाखा

खेत खलियान

बस्ती मैदान

अदम्य साहस बटुलेर

पुनः दौडिन्छु

हामफाल्छु

आकास छुन होइन

सागर पुग्न


मनमनै गम्छु, 

अब गगनको यात्रा छोडिदिन्छु

होइन, त्यसो गर्न हुदैन

मैंले यात्रा गर्नै पर्छ

रुखो धर्ती भिजाउन

वनस्पति रिझाउन

हराभरा बनाउन

जीवात्मालाई जगाउन

रुप रङ्गको स्वाद लिन

जीवन चक्र पुरा गर्न

प्रकृतिको नियम धान्न


पुनः

सुरजले फकाउने छ

फकिने छु

कर थाम्ने छ

तानिने छु

उचालिनेछु

खसालिने छु 

अनन्तसम्म



इति शुभम्


प्रभा अधिकारी

सूर्यविनायक -५

भक्तपुर









मानव

 मानव

विचलित 

भयभित

विषम


चराचर

अविचलित

अभय

सम


मन 

भ्रान्त

आक्रान्त

अशान्त


मानव दौड

ठप्प

सन्दिग्ध

रनभुल्ल


सृष्टिको गति

अविराम

निश्चित

नियोजित


विधिको विधान

अकाट्य

सान्दर्भिक

न्यायोचित



प्रकृतिको अनुकम्पा

असिम

सर्वोत्तम 

अलौकिक


मेरा उनी

 मेरा उनी

२०७७/०१/०८ सोमबार




थोरै हिस्सी परे जस्ता

थोरै रङ्ग झरे जस्ता

खै कस्ता कस्ता


थोरै रिसाए जस्ता

थोरै खुसाए जस्ता

खै कस्ता कस्ता


थोरै हक्की जस्ता

थोरै झोक्की जस्ता

खै कस्ता कस्ता


थोरै हठी जस्ता

बाङ्गो लठ्ठी जस्ता

खै कस्ता कस्ता


थोरै मायालु जस्ता

थोरै झगडालु जस्ता

खै कस्ता कस्ता


थोरै सोझो जस्ता

थोरै बोधो जस्ता

खै कस्ता कस्ता


कहिले बुझ जस्ता

कहिले अबुझ जस्ता

खै कस्ता कस्ता


कहिले ज्ञानी जस्ता

कहिले स्यानी जस्ता

खै कस्ता कस्ता


कहिले आगो जस्ता

कहिले पानी जस्ता

खै कस्ता कस्ता


थोरै फक्रिए जस्ता

थोरै मुर्झाए जस्ता

खै कस्ता कस्ता


कहिले घाम जस्ता

कहिले जून जस्ता

खै कस्ता कस्ता


थोरै शान्त जस्ता

थोरै अशान्त जस्ता

खै कस्ता कस्ता


कहिले मेघ गर्जिए जस्ता

बर्षातमा पानी बर्सिए जस्ता

खै कस्ता कस्ता


प्रभा अधिकारी

सूर्यविनायक-५

भक्तपुर



जबदेखि

 २०७७/०१/०७ आइतबार

जबदेखि तिमी मेरो जीवनमा आयौ

उमङ्ग बनि छायौ वसन्त बहार ल्यायौ


पाउजुको झंकारमा नाचुँ नाचुँ लाग्छ

यो मन हरपल तिम्रै पछि भाग्छ 

पुतलीको पंख लगाइ उडुँ उडुँ लाग्छ

खै किन हो

सारा संसार रङ्गिन रङ्गिन लाग्छ

 

जब मेरो सामु तिमी मुस्कुरायौ

मेरो मन मन्दिरमा प्रेमको दिप जलायौ


घरि ऐना हेर्छु घरि सोह्र सृङ्गार गर्छु

आफ्नै मुहार हेरि उसै मख्ख पर्छु

इन्द्रेणीको घुम्टो ओढि खेल्न मन लाग्छ

खै के भो मलाई

बताससँग सुस्तरी बोल्न मन लाग्छ


जब मेरा नयनमा तिमीले नयन मिलायौ

अन्तसतलमा मायाको मीठो आभास दिलायौ


प्रभा अधिकारी

सूर्यविनायक-५

भक्तपुर



पिडा भुली हाँस्न

पिडा भुली हाँस्न रहर भो जीन्दगी

जीउनै नसकिने, कहर भो जीन्दगी


तिमीले दिएका चोटहरुको प्याला

पिउनै नसकिने, जहर भो जीन्दगी


चारै तिर छट्पटी अनि कोलाहल

दुर्गन्धित, सहर भो जीन्दगी


न हर्ष न खुसी उजाड उजाड

पानी बिनाको, नहर भो जीन्दगी


असरल्ल अस्तव्यस्त अनि निरस

बर्षा पछिको, बगर भो जीन्दगी


दुःख पिडा जति नै आइलागे पनि

रमाउँदै बाँच्ने, ठहर भो जीन्दगी


प्रभा अधिकारी

सूर्यविनायक-५

भक्तपुर

२०७६/०४/१२




Wednesday, August 10, 2022

स्मृति

 स्मृति  

२०७८/०२/२५ मङ्गलबार



विचित्र ! 

विपत्ति !! 

बित्यास !!! 

घोर अनर्थ !!!! 

भूतलाई वर्तमानको ढुकुटीमा सजाउने! 

कवाड खाना बनाउने? 

गमलामा कागजको फूल फूलाउने ! 

फूलदान बनाउने ?



छि: यस्तो दुर्दशा ! 

दुर्गति !! 

दुर्मति!!!

भयो, म गर्दिन


ढप्काइदिएँ 

स्मृत कोठरीका झ्याल - ढोका 

प्वाल - खोपा


फुकदिएँ 

सम्झनाको धिपधिपे दियालो 

विस्मृत तुवाँलो


सफा हृदय गगन 

बादलको एक फुर्को छैन


शान्त अन्त: करण 

न ज्वारभाटा  

न आन्दोलन  

न तरङ्ग 

न भरङ्ग 

न राप 

न चाप


निर्मल  

निश्चल 

निस्तब्ध


छुटेकोमा - शोक न सन्ताप 

आउनेमा - हर्ष न विस्मात 

जो छ, उसैमा छ 

उत्सव 

उल्लास 

उमङ्ग



म आजमा रमाउने नर 

मनमौजी चर 

हिजोको रहेन भर 

भोलिको छैन डर


"एको अहं द्वितियो नास्ति । 

न भूतो न भविष्यति ।।"


इति


प्रभा अधिकारी

सूर्यविनायक-५

भक्तपुर











Tuesday, August 9, 2022

नयाँ

 साल नयाँ चाल नयाँ

समयका छाल नयाँ


गन्ध नयाँ छन्द नयाँ

वसन्तको आनन्द नयाँ


जोश नयाँ होस नयाँ

बिहानीको ओस नयाँ


सोच नयाँ खोज नयाँ

प्रभाती ओज नयाँ


रुप नयाँ कुप नयाँ

दिवाको धूप नयाँ


काया नयाँ साया नयाँ

सन्ध्याको आभा नयाँ


प्रभा अधिकारी

सूर्यविनायक-५

भक्तपुर

२०७७/१२/३१








पर्खेर बसेथें

 पर्खेर बसेथें, तिमी आउने दिन औंलामा गनेर

सोचेकै थिइनँ, तिमी बाकसमा फर्किन्छौ भनेर


भन्दै थिएँ, गाम बेसी मेलापात सँगै गरौँला

हिड्यौ कुरै नसुनी, घरबारी उकासौँला भनेर


मेरा आँसुका बाँधले, रोकिएनन् तिम्रा पाइलाहरु

सम्झायौ बर्षामा चुहिने, छानो टाल्नु छ भनेर


बाबा आमा लालाबालाको, मुहार पनि हेरेनौ

लम्क्यौ उसै, यिन्कै भविष्य कोर्नु छ भनेर


मागेकी थिइन मैले, सुनका गहना तैपनि

उड्यौ तिम्रा हातका, बाला फेर्नु छ भनेर


डाँको छोडेर रोए पनि, मेरो आँसु पुछ्न

खोल्ने छैनौ नयन, छिनछिन डलर गनेर


एकान्तमा भक्कानिएर, निसासिंदै म रुँदा

आउने छैनौ फकाउन, मलाई "काली" भनेर



प्रभा अधिकारी

सूर्यविनायक-५

भक्तपुर




  गणतन्त्र दिवस राजतन्त्र  निरङ्कुशतन्त्र  प्रजातन्त्र  एकदलीय प्रजातन्त्र  बहुदलीय प्रजातन्त्र  शाहीतन्त्र  शिशु प्रजातन्त्र  लोकतन्त्र  अन...